एउटा हिमाली फुटबल रंगशाला जहाँ ४० वर्षमा एक हजार बल हराए

ओटमार हिजफिल्ड रंगशाला।

एजेन्सी– यहाँसम्म पुग्न दुई वटा केबलकार चढ्नुपर्छ। जाडो याममा त हिउँले ढाकिन्छ। जर्म्याट रिसोर्टसँग जोडिएको यो ठाउँ जाडो याममा ‘जर्म्याट स्की रिसोर्ट’ बन्छ।

समुद्री सतहबाट २ हजार मिटर उचाईमा रहेको स्विजरल्यान्डस्थित अटमार हिजफिल्ड रंगशालाले जो कोहीलाई पनि लोभ्याउँछ, फुटबलप्रेमीको कुरै छाडौँ। फुटबल क्लब जिसपनले यही रंगशालालाई आफ्नो ‘होम ग्राउन्ड’का रुपमा प्रयोग गर्दै आएको छ।

‘फुटबल खेल्नका लागि योभन्दा सुन्दर ठाउँ अर्काे हुन सक्दैन’, क्लबका रक्षक डिएगो एबगट्सपन भन्छन्, ‘यहाँबाट हिमाल देखिन्छ, हिउँले ढाकिएका ठाउँ देखिन्छन् अनि हरिया रुखहरु पनि।’

एबगट्सपन क्लबका लागि विगत १८ वर्षदेखि खेलिरहेका छन्। जिसपनले स्विजरल्यान्डको हिमाली क्षेत्रमा आयोजना हुने स्वीस माउण्टेन लिग खेल्छ।

युरोपमा भएका रंगशालामध्ये सबैभन्दा उचाईमा रहेको रंगशाला हो हिजफिल्ड। सडकमार्गसँग जोडिएको छैन जिसपन इलाका। अन्य ठाउँका रंगशालामा भन्दा यहाँ खेल्न केही गाह्रो हुन्छ खेलाडीलाई, श्वास–प्रश्वासमा समस्या आउन सक्छ।

‘हामीलाई यहाँ खेल्न बानी परेको छ। यदी पहिलो हाफमा हामी ५-० गोलले पछाडि छौँ  भने पनि हामीलाई विश्वास हुन्छ हामी पुनरागमन गरेर खेल जित्न सक्छौँ’, एबगट्सपन भन्छन्।

क्लब स्थापना भएको ३५ वर्षपछि यो रंगशाला बनेको हो। कृत्रिम मैदान रहेको यो रंगशाला अन्य भन्दा सानो छ, पर्याप्त मैदान अभावमा। मैदानको एक छेउमा अग्लो तार जाली लगाइएको छ। त्यस छेउसँग भिर जोडिएकाले बल खस्यो भने भेट्न सजिलो हुँदैन। क्लबले पछिल्लो ४० वर्षमा आफ्नो एक हजार भन्दा बढी बल हराएको जनाएको छ।

‘अधिकांश समय बल एक सय मिटर तलसम्म झर्छ। कहिलेकाहीँ पाँच सय मिटर तलसम्म पुग्छ। कहिलेकाहीँ कुनै खेलमा एउटा पनि बल झर्दैन। कहिले काहीँ १० वटा बलसम्म झर्छ। त्यस्तो अवस्थामा हामी तल पुगेर बल खोजेर ल्याउँछौँ’, जिसपनका रक्षक एल्फन ब्रिगर भन्छन्।

अक्टोबरदेखि मैदान हिउँले ढाक्न सुरु हुन्छ। नयाँ सिजन सुरु हुनुअघि खेलाडीले मैदान सफा गर्छन्। हिउँ राम्रोसँग पग्लिएको हुँदैन। ५० सेन्टिमिटरसम्म हिउँ जमेको हुन्छ। रंगशालामा दुई तीन जनादेखि ४०/४५ जनासम्म दर्शक जम्मा हुन्छन्। उनिहरु केबल कार चढेर मैदानसम्म आउनु पर्छ।

‘तर यहाँ खेल्न सँधै मज्जा आउँछ’, जिसपनका कप्तान सेबास्टियन फुरर भन्छन्। फुररका बुबाले पनि यस ठाउँमा खेले। त्यहाँ आएर उनी बाबुले खेलेको हेर्थे। बाबुले खेलेको ठाउँमा खेल्दा आनन्द आउने फुरर बताउँछन्।

रंगशालाको नाम जर्मन क्लब बायर्न म्युनिख र स्विजरल्यान्डका पूर्व प्रशिक्षक अटमार हिजफिल्डको नाममा राखिएको हो। सन् २००८ मा यहाँ आयोजित पहिलो  युरोपियन माउन्टेन भिलेज च्याम्पियनसिपको उद्घाटन गरेका हिजफिल्डको नाम रंगशालासँग जोडिएको थियो।

यो रंगशालामा हरेक चार वर्षको अन्तरमा परम्परागत युरोपियन च्याम्पियनसिप आयोजना हुनेगर्छ जहाँ युरोपियन देशका हिमाली क्लबहरु सहभागी हुन्छन्।

 

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्