कांग्रेस चियापानमा प्रचण्डले भनेः राजनीति यस्तै हो, हेरौँ अब कस्तो कोल्टे फेर्छ

फाइल तस्बिर

काठमाडौँ– नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असंभव नहुने र कोल्टे फेरिरहने बताएका छन्।

दसैँ, तिहार तथा छठको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा दाहालले कांग्रेस नेताहरुलाई भेट्दा सहकर्मी भेटेको अनुभूति हुने भन्दै राजनीतिको कुनै भर नहुने बताएका हुन्।

दाहालले भने, ‘नेपाली कांग्रेसका नेताहरुको बीचमा आइपुग्दा सहकर्मीको भेटेको अनुभूति हुन्छ। मैले भन्ने गरेको छु राजनीतिमा असम्भव केही हुँदैन। राजनीति यस्तै हो, हेर्दै जाउँ अब राजनीतिले कस्तो कोल्टे फेर्छ।’

दुई वर्षअघि २०७४ साल दसैँमा तत्काली माओवादी केन्द्रको अध्यक्ष रहेका दाहालले कांग्रेससँग सत्ता सहयात्रा गरिरहेका बेला आश्चर्यजनक रुपमा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी सहकार्य हुँदै पार्टी एकता गर्ने घोषणा गरेका थिए।

दाहालको भनाइलाई अहिले पार्टी एकताको प्रक्रियामा असहमति जारी रहे त्यहाँबाट फर्किएर पुनः कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरेको कतिपयले अर्थ लगाएका छन्।

उनको भनाइलाई प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष ओलीप्रतिको असन्तुष्टिका रुपमा समेत लिइएको छ।

उनले नेकपाले प्राप्त गरेको झण्डै दुई तिहाई बहुमतबारे सोधेको प्रश्नमा त्यसबारे टिप्पणी नगर्ने बताए। ‘अहिले दुई तिहाइको कुरा नगरौँ भन्ने लाग्या छ’, दाहालले हाँस्दै भने।

प्रचण्डले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र आफूले सुरु गरेको शान्ति प्रक्रियाले पूर्णता पाउँदै संविधान निर्माण भएकोमा खुशी लागेको बताए।

‘मैले र गिरिजा बाबुले हस्ताक्षर गरेर सुरु गरेको अभियानले पूर्णता पाएको छ। सम्वृद्ध नेपाल निर्माणको महाअभियान थालेका थियौँ, त्यो जारी जारी छ’, दाहालले भने।

दाहालले बिपी कोइरालाले चाडवाडको अवसरमा सुरु गरेको चियापान कार्यक्रमले राष्ट्रिय राजनीतिक संस्कृतको रुपमा विकास भएको उल्लेख गरे।

यस्ता पर्वहरुलाई राजनीतिक सहकार्यको अवसरका रुपमा नेपालका राजनीतिक दलहरुले सदुपयो गरेको उनको भनाइ थियो। दाहालले कांग्रेस कार्यकर्ताको मनोबल बढेको अनुभव आफूले गरेको भन्दै खुशी व्यक्त गरे।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्