१४औं महाधिवेशनले भरोसा योग्य पार्टी बनाउँछः रामचन्द्र पौडेल

काठमाडौँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आउँदो महाधिवेशनले भरोसा योग्य दल बनाउने दाबी गरेका छन्।

पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिइरहेका पौडेलले आफू पुनः सभापतिको उम्मेदवार हुने संकेत गर्दै आउँदो महाधिवेशनले भरोसा योग्य पार्टी बनाउने बताएका हुन्।

दसैँ, तिहार तथा छठको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा पौडेलले सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन गर्ने तरिकाप्रति असन्तुष्टि जनाएका हुन्।

कार्यक्रममा पौडेलले भने, ‘हामी १४औँ महाधिवेशनको पूर्व सन्ध्यामा छौं। अब राष्ट्रलाई भरोसा दिन सक्ने पार्टी बनाउनुपर्छ। दसैँको उपलब्धमा सबैलाई यही शुभकामना दिन चाहन्छु।’

कांग्रेस महाधिवेशन नियमित अवस्थामा आउँदो फागुन महिनामा हुनु पर्ने भए पनि तयारी नभएकाले एक वर्ष लम्बिने निश्चित जस्तै भएको छ।

दुई वर्ष अघि भएको तीन तहको चुनावमा भएको पराजयको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडान पौडेलले राख्दै आएका छन्। देउवाको पार्टी सञ्चालनको तारिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले यो विषयलाई १४औँ महाधिवेशनको हतियार बनाउने तयारीमा छन्।

पौडेलले आजको देशको आवश्यकता परिवर्तनलाई रक्षा गर्नु रहेको उल्लेख गरे।

चिनियाँ राष्ट्रपति सी जिङपिङको आइतबार सकिएको नेपाल भ्रमण उपलब्धि मूलक भएको पौडेलले जिकिर गरे। ‘राष्ट्रपति सीको आवागमनले नेपालको व्यक्तित्वमा आयाम थपेको छ। यो नेपालका लागि ठूलो विषय हो, पौडेलले भने।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्