दाइँजो रकम नदिएपछि श्रीमतीको हत्‍या, श्रीमान्‌सहित चार पक्राउ

सांकेतिक तस्बिर

मोरङ-दाइँजो रकम नदिएको विषयमा विराटनगर महानगरपालिका पिचराकी २२ वर्षीया रञ्जना सहनीको हत्या भएको खुलेको छ।

हत्याको आरोपमा रञ्जनाका श्रीमान् भीम बहरदार सहनीसहित चारजना शुक्रबार नै पक्राउ परिसकेका छन्।

विज्ञापन

भारतीय नागरिक २५ वर्षीय बहरदारलाई शुक्रबार नै भारतीय प्रहरीले पक्राउ गरेपनि मृतक रञ्जनाको शव आइतबार विहान भारतीय बजार जोगबनीबाट करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित एक खोलामा फेला परेको थियो।

जोगबनी प्रहरी चौकीका इन्चार्ज अफताब अहमदका अनुसार मृतकको अनुहार र शरीरको भागमा चोटपटक रहेको छ।

रञ्जनाको हत्या शुक्रबार राती नै जोगबनीको भेडीयारीमा भएको पक्राउ परेकाहरुले प्रहरीलाई जनाएका छन्।

पक्राउ परेकाहरुमा मृतकका श्रीमान् भीमसँगै अर्जुन बहरदार, सैनी बहरदार, शिवानन्द मुखिया रहेका छन्।

गतवर्ष फागुनमा विवाह बन्धनमा बाँधिएकी रञ्जनाको हत्या प्रकरणमा उनका आफन्तले भीमको परिवारलाई २ लाख रुपैया दाँइजो रकम दिन नसक्दा रञ्जनालाई पटकपटक यातना दिने गरेको बताउँछन्।

रञ्जनाको हजुर बुबा उमालाल सहनीले शनिबार नातिनी हराएको खबर पाएसंगै सहनी परिवार खोजीका लागि भेडीयारी पुगेको थियो।

सोही क्रममा आइतबार विहान रञ्जनाको शव खोलामा तैरीरहेको अवस्थामा स्थानीय बालबालिकाले देखेका थिए।

जोगबनी प्रहरीले रञ्जनाको शव पोष्टमार्टमका लागि भारतकै फारविसगञ्ज लगेको छ।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू