
युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा वेल्सले रुस विश्वकपको फाइनलिस्ट क्रोएसियालाई बराबरीमा रोक्न सफल भएको छ । तर यो नतिजाले वेल्सको छनौट यात्रालाई सहज भने बनाउने देखिएको छैन ।
घरेलु मैदानमा भएका खेलमा वेल्सले क्रोएसियालाई १–१ को बराबरीमा रोकेको हो । नवौँ मिनेटमा निकोला भ्लासिचले गोल गर्दै भ्रमण टोली क्रोएसियालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ग्यारेथ बेलले वेल्सका लागि बराबरी गोल फर्काएका हुन् ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र वेल्स बराबरीमा रोकियो । वेल्स पछिल्लो ८ वर्षदेखि घरेलु मैदानमा पराजित भएको छैन । बराबरी गरेको वेल्स समूहको पाँचौँ स्थानमा छ, ६ खेलबाट ८ अंकसहित ।
यसको अर्थ बाँकी दुई खेलमा वेल्सले अजरबैजान र हंगेरीलाई पराजित गर्नु पर्ने छ र स्लोभाकियाले आउँदा खेलमा पूरा अंक जोड्न हुने छैन । वेल्स र स्लोभाकियाको बराबरी अंक भएमा हेड टू हेडका आधारमा वेल्स अघि जाने छ ।
आइतबार राति नै भएको खेलमा हंगेरीले अजरबैजानलाई १–० ले पराजित गरेको छ । हंगेरी सात खेलबाट १२ अंकसहित समूह ई को दोस्रो तथा १० अंकसहित स्लोभाकिया तेस्रो स्थानमा छ । शीर्ष स्थानको क्रोएसियाको १४ अंक छ ।
आइतबार राति भएका अरु खेलमा नेरदल्याण्डसले बेलारुसलाई २–१, जर्मनीले इस्टोनियालाई ३–०, नर्थ मेसेडोनियालाई पोल्याण्डले २–० तथा अस्ट्रियाले स्लोभेनियालाई १–० ले पराजित गरेका छन् ।