फौजदारी अभियोग लागेका पाँच सांसद, महरादेखि रेशमसम्म

काठमाडौँ – विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ । हत्या आरोपमा प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलम आइतबार पक्राउ परेसँगै फौजदारी अभियोग लागेका बहालवाला सांसदको संख्या पाँच पुगेको हो ।

अभियोग लागेर पक्राउ परेकाहरुको सांसद पद अभियोग प्रमाणित नभएसम्म रहन्छ तर उनीहरु निलम्बनको अवस्थामा हुन्छन् । अर्थात उनीहरुले सांसदले पाउने कुनै पनि सेवा–सुविधा पाउँदैनन् ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद रेशमलाल चौधरी, सांसद हरिनारायण रौनियार तथा नारदमुनि रानामाथि पनि फौजदारी अभियोग लागेको छ ।

बलात्कार प्रयासको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका महरा हाल प्रहरीको हिरासतमा छन् । सत्तारुढ नेकपाका उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी छन् ।

नेकपाकै नारदमुनि रानामाथि रातो पासपोर्टको दुरुपयोग गरेको अभियोग छ । रातो पासपोर्ट बिक्री गरेको अभियोगमा विषेश अदालतबाट २०७२ साउन २६ मा उनलाई सफाइ दिएकाे थियो । तर उनी विरुद्ध  सर्वाेच्च अदालत मुद्धा दायर भयाे। हाल उनीविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा तामेलीमा राखिएको छ ।

यसैगरी राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी टीकापुर घटनामा एसएसपीसहित व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । रेशमलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

यस्तै समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियारमाथि भ्रष्टाचार आरोप छ । पेशाले ठेकेदार रहेका उनीमाथि ठेक्कापट्टाको क्रममा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

हिरासतमा रहेका महरा र चौधरी हाल निलम्बनको अवस्थामा छन् । यस्तै आइतबार पक्राउ परेका आलमको निलम्बनको प्रक्रिया सुरु भएको छ । उनी पक्राउ परेको जानकारी संसद सचिवालयमा गराएपछि निलम्बनमा पर्छन् ।

फौजदारी अभियोग लागे पनि हिरासतमा नरहेका राना र रौनियार भने निलम्बनमा छैनन् ।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्