गैरआवासीय नेपाली संघको विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौँ – गैरआवसीय नेपालीहरुका समस्या, चुनौति र अवसरबारे छलफल र नयाँ नेतृत्व चयनका लागि गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ को नवौँ विश्व सम्मेलन भोलीदेखि काठमाडौँमा सुरु हुँदैछ।

होटल ह्यातमा तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका प्रवक्ता भुषण घिमिरेले जानकारी दिएका छन्।

विज्ञापन

केन्द्रीय समितिको नयाँ नेतृत्व समेत चयन गर्न लागेको सम्मेलनको पहिलो दिन दोहोरो नागरिकता, लगानी, सुरक्षा लगायत गैरआवासीय नेपालीका मुख्य मुद्दाबारे छलफल हुने भएको छ ।

घिमिरेका अनुसार पहिलो दिनदेखि नै गैरआवासीय नेपालीका मुद्धाबारे छलफल र निर्वाचन प्रक्रिया सँगसँगै अघि बढ्ने भएको छ ।

असोज २८ गते अर्थात सम्मेलनको दोस्रो दिन संघको केन्द्रीय समितिको चुनाव हुनेछ र सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्।

सम्मेलनमा विश्वका ८० शाखा मध्ये ६० भन्दा बढी शाखाका प्रतिनिधिहरु सामेल हुँदैछन् । सम्मेलनमा करिब १८ सय जनाले भाग लिने आयोजकको दाबी छ ।

यसपटक संघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्थले उम्मेद्वारी दिने तयारी गरेका छन् भने महासचिवमा वर्तमान सल्लाहाकार डा.हेमराज शर्मा लगायत चारजनाले उम्मेद्वारी दिने तयारी गरेका छन् । डा.शर्माले जीवा लामाछिने संघको अध्यक्ष भएका बेला प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

संघको यसअघि जस्तै यसपटक पनि विद्युतीय मतदान हुनेछ। संघले आगामी दुई वर्षका लागि नेतृत्व चयन गर्न लागेको हो ।

अशोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्