पर–पुरुषसँग आपत्तिजनक अवस्थामा भेटिएकी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सांकेतिक तस्बिर

धनगढी – पर–पुरुषसँग आफ्नै घरमा श्रीमती आपत्तिजनक अवस्थामा भेटिएपछि एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आपत्तिजनक अवस्थामा भेटिएकी श्रीमतिलाई श्रीमानले निर्घात कुटपिट गरेका थिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

असोज २१ गते कुटपिट भए पनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२४ गते बिहान अचेत अवस्थामा घरमै भेटिएकी जानकीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापा फेरि उपचारका लागि लम्की स्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । कुटपिटमा संग्लन उनलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ ।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्