‘सी’ स्वागतका लागि दौरा सूरुवालमा उपस्थित हुन प्रधानमन्त्रीको आग्रहको अवज्ञा

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपि ङ नेपाल भ्रमणमा रहेका बेला उनलाई स्वागत, भेटघाट र विदाईका बेला आफ्ना मन्त्री र पार्टी नेताहरुलाई दौरा–सुरुवाल लगाउन आग्रह गरेपनि केही प्रमुख मन्त्री र नेताहरुले त्यसको अवज्ञा गरेका छन् ।

शनिबार दुई दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा र अन्य सबै कार्यक्रममा उपस्थित हुँदा प्रधानमन्त्री ओलीले सबैलाई दौरा सुरुवालमा प्रस्तुत हुन आग्रह गरेका थिए।

तर पूर्ववर्ती एमालेकै दुई वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम अनि पूर्ववर्ती मोओवादीका नेता नारायणकाजी श्रेष्ठ बाहेक सबै नेता ‘सुट’ मा उपस्थित भएका थिए।

राष्ट्रपति सीलाई विमानस्थलमा स्वागतका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराईले दौरासुरुवाल लगाएपनि अधिकांश मन्त्रीहरु रामबहादुर थापा बादल, वर्षमान पुन, मात्रिका यादव, गिरीराजमणी पोखरेल, शक्ति बस्नेत ‘सुट’मा थिए।

यस्तै अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव र यातायातमन्त्री रघुवीर महासेठ पनि ‘सुट’ मै सजिएका थिए। सत्तारुढ नेकपाका एक अध्यक्ष ओली बाहेक केन्द्रीय सचिवालयका सात सदस्यको नेतृत्व गर्दै सीसँग भेट गर्न पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, र रामबहादुर थापा बादल पनि ‘सुट’ मै थिए ।

अपवाद स्वरुप प्रधानमन्त्री ओलीको आग्रहलाई आदार गर्दै उपस्थित हुनेमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्