धारिलो हतियार प्रहार गरी महिलाको हत्या

बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।

घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उनले बताए। लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको छ।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्