विश्वकप फुटबल छनौटः नेपालले आज जोर्डनसँग खेल्ने

फाइल तस्बिर

काठमाडौँ – विश्वकप फुटबलको छनौट अन्तर्गत नेपालले मंगलबार जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोली खेलका लागि गएको शनिबार नै जोर्डन पुगेको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे नेपाल र जोर्डनबिचको खेल सुरु हुनेछ। पाँचपटक विश्वकप खेलिसकेको अष्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल त्यतैबाट जोर्डन गएको हो ।

विश्वकप छनौटमा हालसम्म भएका तीन खेलमा नेपाल एक खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । कुवेतसँग ७–० ले पराजित भएको नेपालले नाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।

नेपालले मंगलबार प्रतिस्पर्धा गर्न लागेको जोर्डनसँगको विगत राम्रो छैन । सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो । सो हारको बदला दिन मंगलबारको खेलमा जित निकाल्नु पर्छ ।

छनौटको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन छन् । त्यसपछि नेपाल र चाइनिज ताइपेइ छन् ।

फिफा बरियतामा नेपाल १६१ स्थानमा छ । जोर्डन नेपाल भन्दा ६३ स्थान माथि रहेको छ।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्