कुर्दिसमाथि आक्रमण गरिरहेको टर्कीका मन्त्रीमाथि अमेरिकाको प्रतिबन्ध

सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिस समुदायलाई लक्षित गरी सैन्य आक्रमण गरिरहेको टर्कीका उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकाले टर्कीका दुई मन्त्री तथा तीनजना उच्च सरकारी अधिकारीमाथि प्रतिबन्ध लागएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता पनि गरेका छन् । ट्रम्पले एर्डोगानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । यस्तै आफू चाँडो भन्दा चाँडो प्रभावित क्षेत्रको भ्रमणमा जाने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् ।

कुर्दिसलाई सहयोग गर्न सिरियाली आर्मी देशको उत्तर–पूर्वी क्षेत्रमा पुगेको छ । टर्किस सेनासँग सो क्षेत्रमा थप भिडन्त हुने अनुमान छ ।

टर्कीले गएको बुधबारदेखि सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।

टर्की कुर्दिसलाई आतंकवादी मान्छ । सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो । टर्कीमा पनि कुर्दिसको बसोबास छ । टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ ।

सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसलाई अमेरिकाले साथ दिँदै आएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे । अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो ।

इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियानमा अमेरिकी सेनालाई साथ दिएका कुर्दिस अहिले एक्लै परेका छन् । अमेरिकाले साथ दिने वचन दिएर धोका दिएको कुर्दिसले बताएका छन् । आलोचनाकै बिचमा अमेरिकाले टर्कीका उच्च अधिकारमाथि प्रतिबन्ध लगाएर आफू कुर्दिसको साथमा रहेको देखाउन खोजेको छ ।

कुर्दिसको नेतृत्व रहेको सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) को नियन्त्रणमा रहेको उत्तरी सिरियामा हाल टर्कीले लगातार बम खसालेको छ । टर्कीले गरिरहेको आक्रमणको संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेका छन् ।

जारी हिंसाका कारण कुर्दिस तथा टर्किस गरी दर्जनौँ सर्वसाधारण तथा सैनिकको ज्यान गएको छ । आक्रमणका कारण एक लाख भन्दा बढी सर्वसाधारण बिस्थापित भएका छन् ।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्