मुस्कुराइरहेका ‘बेचैन’ पारस

काठमाडौं-सामाजिक सन्जाल ट्विटरबाट पद छाडेको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का त्यसको केही घन्टामै एक सार्वजनिक कार्यक्रममा उपस्थित थिए।

बालुवाटारस्थित होटल एम्पायरमा आयोजित वुमन्स क्रिकेट लिग-डब्लूसीएलको ट्रफी अनावरण कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टा अघि नै पारस त्यहाँ पुगेका थिए।पत्रकारका लागि त्यो कार्यक्रमभन्दा पनि पारस ठूला विषय थिए। उनी मिडियाको घेराबन्दीमा परे। पारस बोलिरहेको, हिँडिरहेको, मौन बसिरहेकोलगायत सबै क्षण कैद गर्न क्यामराहरु तेर्सिएका थिए।

हुन त पारस कप्तानबाट राजीनामा दिने विषय पत्रकार सम्मेलन गरेरै जानकारी गराउने पक्षमा थिएनन्। ‘पत्रकार सम्मेलन गर्नुभन्दा उहाँले मान्नु भएन’, मंगलबार बिहान पारसले कप्तानी छाड्ने निर्णय सुनाउँदा आफूले सुझाएको सम्झन्छन् छुम्बी लामा। मोबाइलमा आएका तारन्तार फोन अनि वरिपरिबाट सन्चारकर्मीले घेरिएका पारस मुस्कुराउँदै विषयान्तर गर्न खोज्थे।

कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्का मंगलबार राजधानीमा भएको एक कार्यक्रमका क्रममा । तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

‘ हिजो बेलुकामात्र क्यान निलम्बन फुकुवाको खबर आयो। त्यसैले आज राजिनामा घोषणा गरेको’, पारस दुई वाक्यमा आफ्ना कुरा सिध्याउन खोज्दै थिए।

‘ नेपाली क्रिकेट पारस खड्काको प्रोपर्टी त होइन नी’, उनी आफ्नो निर्णयको बचाउ गर्दै थिए।

‘त्रिवि क्रिकेट मैदान कति राम्रो भएछ। घाँस कति राम्रो भएको।’

‘ नेपाल र जोर्डनबीचको फुटबल आज कति बेला हो ?’

पारस विषय मोड्न खोज्थे।

कार्यक्रम सुरु हुनुअघिसम्म उनी एकै ठाउँ अडिरहन सकेनन्। यताउता गरिरहे, एक्लै।

‘ फ्रेन्चाइज क्रिकेट खेल्दा अन्तर्राष्ट्रिय क्रिकेटका लागि मनोबल उच्च हुन्छ। मज्जा हुन्छ’, पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्न लागेका नेपाली महिला खेलाडीलाई उनी आफ्ना अनुभव सुनाउँदै थिए।

अगाडि ट्रफी अनावरणको कार्यक्रम चल्दै थियो, पत्रकारको पछाडि पारस एक्लै यताउता गरिरहेका थिए, मोबाइल हेर्दै। कार्यक्रम सकिएपछि पारसले मिडियासँग औपचारिक कुरा नगरि सुख पाएनन्। ‘ तर यो पत्रकार सम्मेलन चाहिँ हैन है। मैले कुरा मात्र गरेको’, कार्यक्रमको स्टेजको ठिक अगाडि भुइँमा टुक्रुक्क बसेर उनी करिब आधा घन्टा बोले।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्