बुधबार बिहान फेरि सचिवालय बैठक

नेकपा सचिवालयको निष्कर्ष: नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुग्‍यो

फाइल फोटो

काठमाडौं- नेकपाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, त्यो बेला भएका समझदारी र सम्झौताले चीन नेपालसँगको सम्बन्धमा गम्भीर देखिएको र त्यसको कार्यन्वयनमा आफ्नो पार्टी र सरकार गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमण सकी स्वदेश फर्केको दुई दिनपछि मंगलबार बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको हो।

पार्टी अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको सुरुवातमा सी भ्रमणले नेपाल र चीनको सम्बन्ध नयाँ उचाईमा पुर्‍याएको र त्यसमा चीन जस्तै नेपाल पनि गम्भीर बन्दै कामकारबाही अघि बढाउनु पर्ने आवश्यता रहेको बताएका थिए।

ओलीले त्यसको लागि सरकारलाई सिगो पार्टीले सहयोग गर्नुपर्ने धारणा राखेको र त्यसमा सचिवालयका अन्य सदस्यले समर्थन जनाएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार सीको नेपाल भ्रमणबाट चीन नेपालसगको आफ्नो कूटनैतिक सम्बन्ध विशिष्ट र घनिष्ठ रहेको विश्‍वसामू चिनाउन सफ़ल भएको र त्यो नेपालका लागि गर्वको कुरा भएको निचोडमा नेकपा पुगेको हो।

मंगलबारको बैठकले रिक्त संवैधानिक निकायका पदहरुमा नियुक्तिबारे पनि छलफल गरेको छ।

यस्तै नेकपाको एकताका बाँकी काम, स्थायी कमिटी बैठकको मिति तय लगायतबारे छलफल गर्न बुधबार बिहान ८ बजे बालुवाटारमा फेरि सचिवालय बैठक बस्नेछ।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्