बेलायतमा भएको युद्ध सम्बन्धी सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

सहभागी नेपाली सेनाको टोली अभ्यासका क्रममा।

काठमाडौं :  बेलायतमा भएको ३४ देश सहभागी सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।  युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस
विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिएको थियो । यस अभ्यासमा बेलायतको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल एक सय ४० सैन्य टोलीहरूको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।

एक्सरसाइज क्याब्रियन पेट्रोल २०१९ नाम दिइएको यस सैन्य अभ्यासमा सहभागीहरुले अत्यन्त कठिन भौगोलिक ईलाकामा  २ दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमिटर दूरी पार गरेका थिए।

त्यस क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा,खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली टोलीको नेतृत्व प्रमुख सेनानी असिमदेव गुरुङले गरेका थिए। उनको टोलीमा १० जना थिए।

असोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्