बेहुलाबेहुली र पण्डितसहित सातजना मण्डपबाटै पक्राउ

सांकेतिक तस्बिर

दाङ – सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनीहरुका आमाबुबा र पण्डितलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।

आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्थानीय सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागि विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर हिरासतमा राखेको छ ।

बालविवाहको कार्यमा संलग्नको नाम गोप्य राखिएको छ । दुलहा र दुलही एउटै विद्यालयमा अध्ययनरत थिए र उनीहरुले प्रेम विवाह गरिएको बुझिएको छ ।

तर, कानुनमा बालविवाह गर्ने गराउनेलाइ न्यूनतम डेढ वर्ष देखि तीन वर्ष कैद र १५ हजार देखि ३० हजार सम्म जरिवानाको व्यवस्था छ ।

असोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्