सञ्जय लीला भन्सालीकाे आगामी चलचित्र ‘गंगुवाई काठियावाडी’, मूख्य भूमिकामा आलिया

काठमाडौँ– ऐतिहासिक तथा पौराणिक कथावस्तुमाथि चलचित्र बनाउन माहिर बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले आफ्नो आगामी चलचित्र ‘गंगुवाई काठियावाडी’को घोषणा गरेका छन्।

चलचित्रमा अभिनेत्री आलिया भट गंगुबाई काठियावाडीको भूमिकामा देखिने लगभग पक्का भएको छ। यससँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र २०२० को सेप्टेम्बर ११ बाट प्रदर्शनमा आउने बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

भन्सालीले चलचित्र पत्रकार एस हुसेन जैदीको पुस्तक ‘माफिया क्वीन अफ मुम्बई’माथि आधारित भएर चलचित्र बनाउन लागेका हुन्।

यसअघि बनाउने भनेको चलचित्र इंशाल्लाहको काम अघि बढ्न नसकेपछि भन्साली र आलिया नयाँ चलचित्रमा एकसाथ काम गर्न लागेका हुन्।

इंशाल्लाहमा सलमान खान र आलियाको मुख्य अभिनय हुने बताइएको थियो। तर सलमानले इंशाल्लाहबाट हात झिकेपछि चलचित्रको काम अघि बढ्न नसकेको हो।

भन्सालीले यसअघि पद्मावत, बाजीराव मस्तानी जस्ता चर्चित चलचित्र बनाएका छन्।

असोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्