एल क्लासिको बार्सिलोनाबाट रियल मड्रिडको मैदानमा सार्न आग्रह

स्पेनिस लिग ला लिगाले लिग अन्तर्गत अक्टोबर २६ अर्थात आउँदो कात्तिक ९ गते हुने एल क्लासिको बार्सिलोनाको मैदान नाउ क्याम्पको सट्टा रियल मड्रिडको मैदान बर्नाबेउमा गर्न आग्रह गरेको छ । स्पेनिस लिगका दुई टिम रियल मड्रिड र बार्सिलोनाबिचको खेल एल क्लासिकोका रुपमा परिचित छ ।

क्याटलोनियाको राजधानी बार्सिलोनामा रहेको नाउ क्याम्प मैदानमा अक्टोबर २६ को खेल तय भएको छ । तर क्याटलोनियामा हाल प्रदर्शन जारी रहेकाले सो खेल रियल मड्रिडको मैदानमा गर्न ला लिगाका पदाधिकारीले आग्रह गरेका हुन् ।

क्याटलोनियामा स्पेनबाट स्वतन्त्र हुने पक्षमा प्रदर्शन हुँदै आएको छ । त्यसले गर्दा त्यहाँ तनावको अवस्था छ । सोही तनावले खेलमा प्रभाव पर्न सक्ने भन्दै खेल मैदान परिवर्तन गर्न आग्रह गरिएको हो ।

गएको सोमबार क्याटलोनियाको स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका ९ जना नेतालाई जेल चलान गरिएको थियो । त्यसपछि बार्सिलोनामा प्रदर्शन भइरहेको छ ।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्