सिरियामा टर्कीको सैन्य आक्रमण

‘टर्कीले आक्रमण गरेको हाम्रो सीमा होइन, कुर्दिस स्वर्गका दूत होइनन्’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले आक्रमण गरिरहेको सीमा क्षेत्र आफ्नो देशको नरहेको बताएका छन् । टर्कीले सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसलाई लक्षित गरी गएको हप्ताको बुधबारदेखि सैन्य आक्रमण गर्दै आएको छ ।

त्यसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ । आक्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हरियो झण्डा देखाएको आरोप छ । तर ट्रम्पले भने टर्कीले आक्रमण गरिरहेको सिरियाली क्षेत्र आफ्नो देशको सीमा नरहेको बताएका हुन् ।

यस्तै उनले अमेरिकाको पूर्व सहयोगी कुर्दिसहरु पनि स्वर्गका दूत नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकारसँग टर्कीले गरिरहेको आक्रमणमा आफ्नो कुनै हिस्सा नरहेको दाबी गर्ने प्रयास गरेका हुन् । उनले कुर्दिसको रक्षाको विषयलाई पनि उनीहरु ‘स्वर्गका दूत’ होइनन् भनेर पन्छिने प्रयास गरेका छन् ।

सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसहरुको सैन्य समूह सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा अमेरिकी सैनिकलाई साथ दिँदै आएको थियो । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।

टर्की कुर्दिसलाई आतंकवादी मान्छ । सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो । टर्कीमा पनि कुर्दिसको बसोबास छ । टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे । अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो ।

ट्रम्पले कुर्दिस नियन्त्रित क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचना भइरहेको छ।

ट्रम्पकै निर्णयका कारण कुर्दिस बाहुल्य क्षेत्रमा मानवीय संकटको अवस्था आउन लागेको बताइन्छ । यस्तै सो क्षेत्रमा कुर्दिसको नियन्त्रमा रहेका आइएसका लडाकु भाग्न सफल भएको पनि जनाइएको छ ।

तर ट्रम्पले सैनिक फिर्ता बोलाउने निर्णयको बचाउ गर्दै भने, ‘अमेरिका त्यहाँ सुरक्षाकर्मी तैनाथ गर्ने एजेन्ट होइन । हामी अब त्यहाँबाट फिर्ता हुने बेला भयो ।’

अमेरिकी संसदको तल्लो सदनले सिरियाबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्ताव पारित गरेको छ । ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्तावमा डेमोक्र्याट तथा रिपब्लिकन सांसदले मत दिएका थिए ।

सिरियाका सम्बन्धमा संसदका नेतासँग बैठकको क्रममा राष्ट्रपति ट्रम्प ‘मेल्टडाउन’ भएको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले पत्रकारसँग बताएकी छन् । ट्रम्पले पनि पेलोसीमाथि सोही आरोप लगाएका छन् ।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्