एनआरएनएको निर्वाचनमा विद्युतीय मतदान रद्द, परम्परागत मतदान हुँदै

काठमाडौँ – प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन अहिले केहीबेरमा परम्परागतरुपमा सुरु हुने भएको छ।

बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको जानकारी निर्वाचन समितिका आयुक्त शिव आचार्यले दिएका थिए।

विज्ञापन

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्ये २ वटाले मात्रै काम गरेको थियो। त्यसपछि कागजी प्रक्रियाबाट मतदान सुरु हुन थालेको हो ।

तर नियतबस मतदान स्थगित भएको भन्दै मतदाताले घण्टौँसम्म नाराबाजी गर्दै आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए। केहीले निर्वाचन बहिष्कार गरेको घोषणा गरेपछि आयोजकलाई तनाव भएको थियो।

कतिपयले विश्वका विभिन्न मुलुकबाट निर्वाचनकै लागि हतारहतार नेपाल आएको तर निर्धारित समयमा निर्वाचन नहुँदा टिकट नै रद्द गर्नु पर्ने अवस्था आएको र त्यसो गर्न नसक्ने भन्दै दुःख व्यक्त गरेका थिए।

मंगलबारदेखि सुरु भएको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा विश्वका ८२ शाखा मध्ये ६० वटा भन्दा बढी शाखाबाट प्रतिनिधित्व छ।

निर्वाचनमा २६ सय १३ मतदाता रहेको निर्वाचन बिहीबार दिउँसो ४ बजे सम्म चल्ने आयार्चले बताए। त्यसलगत्तै मतगणना सुरु हुनेछ।
सम्मेलनको समापन बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

अशोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्