दाङ – लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी राजु चौधरी २४ वर्षका भए । तर, उनी रोजगारीमा लागेको ६ वर्ष भैसकेको छ ।
फलाम सम्बन्धी काम जानेका उनले दुई वर्ष बसको ‘बडी’ बनाए ।

त्यसपछि उनी फलाम र स्टिलको काममा हात हाले । काम जानेपछि उनलाई घर व्यवहार चलाउन कुनै समस्या छैन । ‘कक्षा ९ सम्म मात्रै पढेको छु । काम नगरी घर चलाउन सकिएन । लेबरबाट काम सुरु गरेँ । अहिले मिस्त्रिको काम गर्छु ।’ उनले भने, ‘मासिक २० हजार भन्दा बढी आम्दानी हुन्छ ।’

फलामको काम सिक्दै गर्दा उनले पासपोर्ट समेत बनाएका थिए । तर, अहिले विदेश जाने सोच नभएको बताए । ‘विदेश जान्छु भनेर पासपोर्ट समेत बनाएको थिए । तर, जाने मननै मर्यो’ उनले भने, ‘अहिले घरमै बसेर काम गर्न पाइएको छ । हातमा सीप छ भोकै बस्नु परेको छैन ।’

राजुले फलामबाट बन्ने च्यानल गेट, ढोका, फलामको घर बनाउन सक्ने सीप छ । युवा उमेरमै उनको हातमा सीप बसेको छ । यहीँ सिपले जीवनमा सफल हुन जुक्ति सिकाएको छ ।

बलरामपुर निवासी २० वर्षीय अर्जुन चौधरी १ वर्षदेखि यहीँ फलामको काममा संलग्न छन् । उनले काम सिकिसकेका छन । ‘काम नजान्दा असजिलो लाग्थ्यो । काम जानेपछि सजिलो संग गर्ने गरेको छु ।’ उनले भने, ‘म सहित ६ जना परिवार खुसि छौँ ।’

राजु र अर्जुन जस्ता युवालाई रोजगारीको अवसरको सृजना केशव पौडेलले गरेका हुन् । पौडेलले लमहीमा एसके इन्जिनियरिङ्ग वर्कसप सञ्चालन गरेका छन् । यहीँ वर्कसपमा ९ जना युवाले प्रत्येक्ष रोजगारी पाएका छन् । ‘यिनै युवाका कारण म पनि यो व्यवसायमा सफल भएको छु ।’ पौडेलले भने, ‘रोजगारीको अवसर स्थानीय स्तरमा सृजना गर्ने हो भने विदेशीने जनशक्तिलाई रोक्न सकिन्छ ।’

पौडेलले युवाहरुलाई काम गर्ने अवसर र वातावरण दुवै मिलाएको बताए । ‘एकोहोरो काम मात्रै लगाउने भन्दा उनिहरुलाइ आरामसँगै काम गर्ने वातावरण मिलाएको छु ।’ उनले भने, ‘खुशी र हौसलाका साथ काम गरिरहेका छन् ।’ पछिल्लो समय फलाम, काठ, पेन्टिङ सम्बन्धी काममा युवा वर्गको आकर्षण देखिएको छ ।

हातमा सीप भयो भने युवा वर्गले राम्रो काम गरेर देखाउन सक्ने भएकाले सीप सिकाउने र काम गर्ने वातावरण निर्माण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । ‘युवालाई रोजगारी चाहिएको छ । रोजगारीको सृजना स्थानीय सरकारले गर्न जरुरी छ ।’ युवा अभियान्ता भीम ओलीले भने, ‘आफ्नै गाउँ ठाउँमा रोजगारी पायो भने को जान्छ मरुभूमिमा काम गर्न ।’

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्