पाकेको धानमा फौजी कीराको आक्रमण, पाँच सय हेक्टरभन्दा बढीमा क्षति

नेपालगञ्ज– बाँकेमा फौजी कीराले पाकेको धानमा नोक्सानी पुर्‍याएपछि किसानले लागत बराबरको क्षतिपूर्ति माग गरेका छन्।

धान पाकेर काट्ने बेलामा किराले नोक्सानी पुर्‍याएपछि किसान चिन्तित हुँदै क्षतिपूर्ति माग गरेका हुन्। किराले काटेको धान देखाउँदै हिरमिनियाका किसान प्रदेशी यादव र वंशीलाल मौर्यले भने, ‘धान पाकिसकेपछि फौजी किराले नोक्सानी पुर्‍याएको छ। हामीलाई क्षतिपूर्ति चाहियो।’

 डुडुवा गाउँपालिकाको खाद्य अधिकार सञ्जालका पदाधिकारीहरु अनुगमन गएको बेलामा किसानले क्षतिपूर्ति माग गरेका थिए। ‘बीउदेखि रोपाई, गोडमेल गरिसकेर पाक्ने बेलामा किराले धानमा नोक्सानी पुर्‍याएको छ। किराले एक विगाहको धान नोक्सानी गरेको देखाउँदै मौर्यले भने, ‘हामीलाई लागत बराबरको क्षतिपूर्ति दिनुपर्छ।’

डुडुवा गाउँपालिका–६, हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रले पाकेको धानलाई फौजी किराले नोक्सानी पुर्‍याएकाले किसानलाई लागत अनुसारको क्षतिपूर्ति दिनुपर्ने बताए। वडाध्यक्ष मिश्रका अनुसार, हिरमिनियामा कम्तीमा दुई सय हेक्टरमा लगाएको धान किराले नोक्सान गरेको छ। ठूलो संख्याका किसान मारमा परेकाले गाउँपालिकाले क्षतिपूर्ति दिन सक्ने अवस्था छैन। डुडुवा गाउँपालिकाले चालु वर्षमा कृषिमा २९ लाख रुपैयाँ छुट्याएको छ।

वडाध्यक्ष मिश्रले भने, ‘किराले ८५ देखि ९० प्रतिशत धानमा नोक्सानी पुर्‍याएको छ। गाउँपालिकाले क्षतिपूर्ति दिन सक्दैन। प्रदेश र केन्द्र सरकारले नै किसानको मर्का बुझिदिनु पर्छ।’ मिश्रका अनुसार, केही दिनमै किसान भेला गरेर प्रदेश र केन्द्र सरकारसमक्ष लागत बराबरको क्षतिपूर्तिको माग गर्ने तयारी भएको छ।

हिरमिनियामा अनुगमन गर्न पुगेका डुडुवा गाउँपालिकाका खाद्य अधिकार सञ्जालका अध्यक्ष कप्तान पाठकले खेतमा गएर हेर्दा धानका बाला जताततै छरिएको देख्दा मन कुडिएको बताए। ‘धान पाकेर भित्र्याउने बेलामा बाला नै गायब भएको देखिएको छ। धानका बालाजति भुइँमा झरेका छन्’, अध्यक्ष पाठकले भने, ‘कतिपय किसानले किराले खसाएको बाला जम्मा पारिरहेका थिए।’

अनुगमनमा रहेका लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले ठाडो मात्रै होइन, काटेर भुईमा सुकाइएको धानको बाला पनि किराले काटेको बताए। अनुगमनमा सञ्जालकी कोषाध्यक्ष मोतिसरा थापा पनि सहभागी थिइन्।

हिरमिनियामा मात्रै होइन, फौजी किराले जिल्लाका धान पकेट क्षेत्रमा नोक्सानी पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, जिल्लामा कम्तीमा पाँच सय हेक्टरमा लगाएको धानमा फौजी किराले नोक्सानी पुर्‍याएको छ।

केन्द्रका प्रमुख सागर ढकालले मौसम परिवर्तन नभएकाले नोक्सानी अझ बढ्ने बताए। ‘हामीले औषधी प्रयोग गरेका छौँ। मौसम परिवर्तन भएर अलिअलि पानी परेको भए किरा मर्थ्याे। एकनासको मौसम रहँदा किराले अझ बढी नोक्सानी पुर्‍याएको छ’, ज्ञान केन्द्रका प्रमुख ढकालले भने, ‘नोक्सानी एकिन तथ्यांक लिदैछौँ।’

हिरमिनिया, फत्तेपुर, बसुदेवपुर, बैजनाथ गाउँपालिकाका विभिन्न ठाउँमा फौजी किराले धानमा नोक्सान गरेको कृषि ज्ञानका प्रमुख ढकालले जानकारी दिए।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्