सिरियामा टर्कीको सैन्य आक्रमण

ट्रम्पको चिट्ठी टर्कीका राष्ट्रपतिले डस्टबिनमा मिल्काए

टर्कीका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको चिट्ठी डस्टविन (फोहोर फाल्ने भाँडो) मा हालेका छन् । सो चिट्ठी टर्किस राष्ट्रपति एर्डोगानले डस्टबिनमा फालेको जानकारी प्राप्त भएको बिबिसीले उल्लेख गरेको छ

अमेरिकी राष्ट्रपति ट्रम्पले अक्टोबर ९ मा टर्कीका राष्ट्रपतिलाई सम्बोधन गरेर चिट्ठी लेखेका थिए । सिरियामा रहेका अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयसँगै ट्रम्पले टर्कीका राष्ट्रपतिलाई चिट्ठी पठाएका थिए र उनले त्यसमा एर्डोगानलाई ‘डन्ट बी अ तफ गाइ, डन्ट बी अ फुल!’ भनेका थिए ।

टर्कीका राष्ट्रपतिले सो चिट्ठीमा गरिएको आग्रह स्पष्ट रुपमा अस्वीकार गरेको बिबिसी टर्किसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । चिट्ठी प्राप्त भएको भोलिपल्ट अर्थात गएको हप्ताको बुधबारदेखि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरी सैन्य कारवाही थालेको हो ।

ट्रम्पले चिट्ठीमा भनेका छन्, ‘हामीले दुवैलाई राम्रो हुने गरी काम गरौँ । तपाईँ हजरौँ व्यक्तिको हत्याका लागि जिम्मेवार बन्न चाहनु हुन्न र टर्कीको अर्थतन्त्र सखाप हुनुको जिम्मेवार बन्न चाहन्न र बन्ने छैन ।’

ट्रम्पले चिट्ठीमा अघि लेखेका छन्, ‘यदी यो काम राम्रो र मानवीय तवरले गर्नु भयो भने इतिहासले तपाईँलाई राम्रोसँग हेर्नेछ । यदी राम्रोसँग यो काम भएन भने जहिले पनि तपाईँलाई खराब रुपमा लिइने छ ।’

त्यसको जवाफमा टर्कीका राष्ट्रपतिको स्रोतले भनेको छ, ‘राष्ट्रपति एर्डोगानले सो चिट्ठी प्राप्त गर्नु भयो, त्यसलाई उहाँले स्पष्ट रुपमा अस्वीकार गर्नु भयो र डस्टबिनमाम हाल्नुभयो ।’

सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसहरुको सैन्य समूह सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा अमेरिकी सैनिकलाई साथ दिँदै आएको थियो । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।

टर्की कुर्दिसलाई आतंकवादी मान्छ । सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो । टर्कीमा पनि कुर्दिसको बसोबास छ । टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो हप्ता सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे । अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो ।

ट्रम्पले कुर्दिस नियन्त्रित क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचना भइरहेको छ।

ट्रम्पकै निर्णयका कारण कुर्दिस बाहुल्य क्षेत्रमा मानवीय संकटको अवस्था आउन लागेको बताइन्छ । यस्तै सो क्षेत्रमा कुर्दिसको नियन्त्रमा रहेका आइएसका लडाकु भाग्न सफल भएको पनि जनाइएको छ ।

तर ट्रम्पले सैनिक फिर्ता बोलाउने निर्णयको बचाउ गर्दै बुधबार भने, ‘अमेरिका त्यहाँ सुरक्षाकर्मी तैनाथ गर्ने एजेन्ट होइन । हामी अब त्यहाँबाट फिर्ता हुने बेला भयो ।’

अमेरिकी संसदको तल्लो सदनले सिरियाबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्ताव पारित गरेको छ । ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्तावमा डेमोक्र्याट तथा रिपब्लिकन सांसदले मत दिएका थिए ।

सिरियाका सम्बन्धमा संसदका नेतासँग बैठकको क्रममा राष्ट्रपति ट्रम्प ‘मेल्टडाउन’ भएको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले पत्रकारसँग बताएकी थिइन् बुधबार । ट्रम्पले पनि पेलोसीमाथि सोही आरोप लगाएका छन् ।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्