आमा–छोरीको घाँटी रेटी हत्या गर्ने पक्राउ, प्रेम असफल भएपछि हत्या गरेको साहद्वारा स्वीकार

गाइघाट- उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सिरहाको लहान नगरपालिका–८ घर भई हाल त्रियुगा नगरपालिका ३ मोतिगडा(मुरगरा)मा डेरागरी बस्ने ४० वर्षीय रामहरी साहले आमाछोरीको हत्या गरेको बयान दिएपछि पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो।

विज्ञापन

आमा-छोरीको हत्या भएको ६ घण्टाभित्रै पक्राउ परेका साहमाथि विशेष अनुसन्धानपछि हत्यारा भएको ठहरका साथ सार्वजनिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए।

उनले भने, ‘हामीले उक्त घटना भएपछि आशंका लागेका रामहरीलाई विशेष अनुसन्धानमा राख्‍यौ। उनले आफ्नो अपराध स्वीकार गरेपछि हत्यारालाई सार्वजनिक गरेका हौँ।’

एसपी मगरका अनुसार साहले सुरुमा सलले घाँटीमा बेरेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बयानमा स्वीकारेका छन्। साहले मृतक महिलासँग प्रेम सम्बन्ध रहेको तर विवाह गर्न नमानेपछि हत्या गर्न बाध्‍य भएको बयान दिएको एपसी मगरले पत्रकार सम्‍मेलनमा बताए।

मृतक चौधरीको घरमा आवत-जावत गरिरहने साहमाथि शंका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा सिम साहकै नाममा रहेको र विवाह गर्ने गरी लामो समय महिलासँग प्रेम गरे पनि त्‍यो प्रयास असफल भएपछि हत्या गरेको बयान समेतलाई आधार मानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताए।

उनले भने, ‘घटना लगत्तै धरानबाट विशेषज्ञ कुकुरसहितको प्रहरी टोली, प्रदेश तथा संघीय प्रहरीसमेतको अनुसन्धान सहयोग मगायौँ। मृतकसँग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र शंकास्पद करीब दुई सय व्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी यो निष्कर्षमा पुगेको हो।’

यसका साथै साहको प्रेम असफल भएपछि योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ। श्रीमती हुन नसक्‍ने जवाफ दिएपछि मानसिक रुपमा विक्षिप्त भएका साहले दशैँ अघिदेखि नै हत्याको योजना बनाएको र आमा–छोरी दुईजना मात्र घरमा भएको मौका छोपी उक्त घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ।

साहले गत असोज २४ गते राति चौकीबारीकी २८ वर्षीया गोमा भनिने सारदा कुमारी चौधरी र उनकी ६ वर्षीया छोरी रचनाकुमारी चौधरीको हत्या गरेका थिए।चौधरी आमा–छोरीको शव २५ गते विहान आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा गाउँलेले फेला पारेको थियो।

अशोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू