तत्कालिन माओवादीको सेल्टरमा ‘विप्लव’को बैठक

फाइल तस्बिर

दाङ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन माओवादीले सेल्टरको रुपमा प्रयोग गरेको ठाउँलाई नै आफ्नो सेल्टरको रुपमा प्रयोग गर्ने गरेको रहस्य खुलेको छ।

दाङको नेपाल–भारत सीमा नजिकका नेपाली बस्तीलाई तत्कालीन माओवादीले सेल्टरको रुपमा प्रयोग गर्ने गरेकाे थिए। अहिले विप्लवका नेता तथा कार्यकर्ताहरुले पनि यिनै बस्तिलाई सुरक्षित स्थल मानेको पाइएको छ।

विज्ञापन

तर, प्रहरीले विप्लवका नेता कार्यकर्ताकाे सेल्टर र गोप्य बैठक बसेको स्थल पत्ता लगाएको छ। राजपुर गाउँपालिका वडा नम्बर ४ मुंग्रेठा खोलाबाट मध्यरातमा २१ जना केन्द्रियस्तरका नेता पक्राउ परेपछि विप्लवका नेता तथा कार्यकर्ताले सुरक्षित ठानेको स्थलको पहिचान भएको हो।

कालाकाटे–सिक्टा सडक खण्डको दुलैया स्कुलदेखि करिब १० किलोमिटर भित्र मुंग्रेठा खोला पर्छ। यो गाउँमा तत्कालीन माओवादीले विशेष प्रशिक्षण र गोप्य बैठक राख्ने गरेका थिए। अहिले विप्लवको गोप्य बैठकको लागि यही ठाउँ छानिएको पाइएको छ।

प्रहरीले विप्लवको राप्ती व्यूरोको गोप्य बैठकबारे एक दिनअघि सूचना पाएको थियो। तीन घण्टा पैदल हिडेर प्रहरी बैठक स्थलमा पुगेको थियो। जहाँ विप्लवका कार्यकर्ता सेन्ट्री बसेका थिए। सेन्ट्रीलाई छक्याएर प्रहरी बैठक स्थलमा पुगेर मध्यपश्चिम कमान्ड इञ्चार्ज चन्द्रबहादुर चन्द सहित २१ जना नेतालाई पक्राउ गरेको थियाे।

जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली उनिहरुलाई पक्राउ गर्न मुंग्रेठा पुगेको थियो।

अशोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्