ब्लग

स्मृतिमा कर्मयोगी मधुकर राणा

मृत्यु स्वभाविक र कटुसत्य हो, तर पनि बाँच्नेहरुका लागि यो अस्वभाविक र असहज बनिदिँदो रहेछ। आफ्नो जटील स्वास्थ्यसँग जुध्दाजुध्दै ७८ वर्षको उमेरमा मधुकर शमशेर जबराको शरीरले विश्राम लियो आश्विन २९ गते।

धेरैले उहाँलाई पूर्व अर्थमन्त्रीका रुपमा सहजै चिन्दछन्। अक्सर मन्त्रीको ‘इमेज’ र ‘आइडेन्टिटी’ बीचको असमानता धेरै भएको हुनाले म मधुकर शमशेरलाई भिन्न रुपमा चिन्दछु–एक विद्वान अर्थशास्त्री, अन्तर्राष्ट्रिय व्यवस्थापन विज्ञ, कुशल टेनिस खेलाडी, प्राध्यापक तथा अन्तर्राष्ट्रिय स्तरका लेखक अनुसन्धानकर्मी।

विज्ञापन

धेरैका वैयक्तिक अनुभूति हुँदा हुन् उहाँसँगका। विगत ५–६ वर्षदेखि उहाँको सोसल सर्कल भित्र म पनि पर्दो रहेछु, पेन नेपालको एउटा कार्यक्रमपछि। यसबीच धेरै अनौपचारिक र थोरै औपचारिक भेटघाट तथा अन्तरक्रियाका कारण उहाँसँगका स्मरणीय क्षणहरु प्रशस्त भएता पनि केही प्रासङ्गिक प्रसङ्गमात्र राख्छु:

१) नेपाल चीन सम्बन्धी वान बेल्ट वान रोड एण्ड नेपाल पुस्तक लेख्ने क्रममा उहाँसँग धेरै अन्तरक्रियाहरु भएका थिए उहाँको सालिग्राम होटलमा २०१६ को अन्ततिर। त्यतिबेलै उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभ नेपाल र चीन बिचको मात्र होइन, त्रिदेशीय (भारत समेत) वा बहुदेशीय सम्बन्धको कडी हुनुपर्छ भन्नु भएको थियो, उक्त कुरा २०१७ मा प्रकाशित पुस्तकमा उल्लेख गरेको छु।

नेपालसँग भारतका बिहार, झारखण्ड, उडिसा र उत्तर प्रदेश यसबाट लाभाविन्त हुन्छन् कनेक्टिभिटीमार्फत भन्ने उहाँको तर्क हो। हामीले यातायात र पारवहन मात्र होइन आर्थिक कनेक्टिभिटीमा ध्यान दिनुपर्छ। यसको अर्थ व्यापार, पर्यटन, यातायात तथा लगानी दुवै देशबिच सहज होस् भन्ने हो। त्यतिमात्र होइन चिनियाँ तथा नेपाली मौलिक संस्कृतिको प्रवर्द्धनमा जोड दिँदै विज्ञान प्रविधि, अनुसन्धान र विकासमा पनि सहकार्य आवश्यक छ।

वृहत्तर र गहिरो अध्ययन अनुसन्धान अनिवार्य पूर्वशर्त हुँदै हुन् लगानी सम्बन्धी कुनै पनि परियोजना सुरु गर्दा नाफा, मूल्य र जोखिम आँकलन गर्दै मौद्रिक तथा आर्थिक लाभ के हुन्छ भन्ने कुरा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो। आर्थिक लेखाजोखा गर्दा उत्पादनको मात्रा (भोल्यूम) र व्यापारको मूल्य (भ्यालु) सँगसँगै निर्यातजन्य बस्तुको उत्पादनमा हाम्रो मौलिक क्षमता र दक्षता के मा छ? दक्षता अभिवृद्धि कसरी गर्न सकिन्छ त्यो विचार गरेर मात्र गुणस्तरीय बस्तु निर्यात गर्नुपर्छ भन्ने उहाँको तर्कसँगको असहमत हुन्छन् र? रेलवे बिस्तार हुनुभन्दा अगाडि काठमाडौँ, पोखरा, भरतपुर र लुम्बिनीलाई आर्थिक केन्द्र (इकोनोमिक हब) र रसुवागढीलाई आधुनिक भौतिक संरचना सम्पन्न आकर्षक शहर बनाउनु पर्छ केरुङको तुलनामा भन्नुहुन्थ्यो।

त्यस्तै रसुवागढी र मुग्लिनलाई ट्रान्सपोर्ट तथा लजिस्टिक हब बनाउन उपयुक्त देख्नुहुन्थ्यो। मधुकर राणाले मसँग तीन वर्ष अघि भन्नु भएका केही कुराहरु चिनियाँ राष्ट्रपतिको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा भएका समझदारी र सम्झौतामा समेत समेटिनु सुखद पक्ष हो।

त्यतिमात्र होइन विश्वविद्यालयको क्षमत बिस्तार, अनुसन्धानमा जोड, छाला तथा छालाजन्य उत्पादन, उन तथा उनजन्य उत्पादन, औषधि, जडिबुटी, खनिज, फोहोर व्यवस्थापन आदिमा समेत आधुनिक प्रविधिको आयात आवश्यक छ समृतिका लागि भन्ने उहाँको स्पष्ट धारणा थियो। चीनसँग मात्र होइन हरेक परियोजना छनौट गर्दा देशको हितलाई मध्यनजर गर्नुपर्छ र दीर्घकालीन रणनीतिक योजना (विकास केन्द्रित) आजैबाट सुरु गर्नुपर्छ भन्ने राणा सही अर्थमा राष्ट्रवादी हुनुहुन्थ्यो।

अन्तराष्ट्रिय सन्धि सम्झौताका विज्ञ राणा, सार्क, बिमस्टेक तथा वैदेशिक लगानी सम्बन्धी धारणाहरु कहीँ लेखमार्फत त कहीँ अन्तरक्रियामार्फत व्यक्त गर्नुहुन्थ्यो। लामो समयको विदेश बसाई, अध्यापन एवं अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा कामकाजीको भाषा अंग्रेजी भएको हुनाले उहाँ प्राय अंग्रेजीमै कुरा गर्न सहज मान्नुहुन्थ्यो।

२) गत अप्रिल महिनाको एक बिहान उहाँले फोन गर्नुभयो भेटघाटका लागि। म कार्यरत कलेजमा नियमित आउनुहुन्थ्यो हाम्रो निमन्त्रणामा। र, हाम्रा विविध शैक्षिक तथा अन्य क्रियाकलापहरु नजिकबाट अवलाेकन गर्नुभएको थियो। त्यो दिन उहाँले डिजाइन गर्नुभएको कन्सल्टिङ्ग मेथड एण्ड स्कील्स को कार्यशाला गराउने प्रस्ताव र त्यस सम्बन्धी मेनुअल लिएर आउनु भएको थियो।

नेपालमा अक्सर शिक्षण सिकाइमा सहयोग पुर्याउने तालिम तथा कार्यशालामा गरिने लगानीलाई खर्चका रुपमा हेरिने गलत बुझाइ छ। पूर्व अर्थमन्त्री, विद्वान प्राध्यापक आफै आएर हाम्रा सहकर्मी साथीहरुको क्षमता विकासका लागि प्रस्तावित कार्यशाला वित्त निर्देशक राजेश श्रेष्ठ सरसहितको भेटघाटमा हामीले सहर्ष स्वकार्यौँ। दैनिक पाँच घण्टाका दरले मे १४ देखि १६ सम्म उहाँबाट दिइएको प्रशिक्षण उहाँको जीवनको उत्तरार्धको सम्भवतः सबैभन्दा लामो र उहाँलाई आत्मविभोर गराउने अन्तिम प्रशिक्षण हो भन्ने लाग्दछ।

कुराकानीका दौरानमा उहाँले भन्नु भएको थियो–मेरो चाँडै नै मुटुको शल्यक्रिया हुँदैछ दोस्रोपटक त्यसपछि तुरुन्त क्रियाशील हुन सक्तिनँ, अप्रेसन, मृगौला प्रत्यारोपण, मुटुको पहिलो अप्रेसनपछि पनि उहाँको साहस सक्रियता र लेखनमा कहिल्यै शिथिलता आएन। पछिल्लो समय मेरो सम्पादनमा प्रकाशित अंग्रेजी म्यागजिनमा उहाँका अनुसन्धानात्मक लेखहरु प्रकाशित भएका छन्।

कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रुची राख्ने पाठकहरुले इन्डियन जर्नल अफ एसियन अफियर्समा २०१३ मा प्रकाशित उहाँको लेख चाइना मिट्स इण्डिया इन नेपाल, अ हिस्तोरिकल एण्ड फ्युचर पस्पेक्टिभ पढून् भन्ने चाहना राख्छु। मैले नजिकबाट चिनेको मधुकर शमशेरका व्यक्तित्वका मूलतः तीन परिचय हुन्, कुशल टेनिस खेलाडी, भविष्य द्रष्टा विकास अर्थशास्त्री र कर्मयोगी प्राध्यापक।

३) आज बिहान मात्र मसँगको भेटमा सन् १९९०–९१ का लन् टेनिसका चर्चित खेलाडी रामेश्वर थापाले भन्नु भएको सम्झन्छु, ‘लगभग उहाँसँग आठ नौ वर्ष टेनिस खेलेँ। मधुकर सर हरेक उमेर समूहका खेलाडीसँग आक्रामक खेल खेल्ने फाइटर खेलाडी हुनुहुन्थ्यो।’

टेनिसमा मात्र कहाँ हो र। आफ्नै अस्वस्थ शरीरसँग उहाँको मनले धेरै लडाइँ लड्यो र जित्यो ७८ वर्षसम्म। त्यो फाइटरलाई अन्तत मृत्युले हरायो आश्विन २९ गते। लुजियाना विश्वविद्यालयका प्राध्यापक दुर्गा दत्त पौडेलको प्रवचनको दिन (जुन २१) एम्बेसडर होटलमा उहाँसँगको लामो वार्तालाप, कार्यक्रममा खिचिएका तस्बिर अनि एउटै मोटरमा लाजिम्पाटबाट जावलाखेलसम्मको यात्रा उहाँसँगको सानिध्यताको अन्तिम दिन रहेछ।

आजै बिहान दुर्गा सरसँग सामाजिक सञ्जालमार्फत संक्षिप्त कुराकानी भयो, स्तब्ध भयौँ। सम्पन्न परिवारमा जन्मनु तर कतिपय अधुरै योजनाहरु छाडेर शरीरले विश्राम लिनु यी दुवैमा संयोग र वियोग भन्दा भिन्न उहाँको वैयक्तिक भूमिका थिएन। बरु समभाव, सहृदयी स्वभाव, अध्ययनशीलता र अविश्रान्त कार्य सक्रियता उहाँका मौलिक विशेषता थिए।

म र म जस्ता धेरैका प्रेरक व्यक्तित्व मधुकर सरको निधनले स्तब्ध बनाएको छ। उहाँकी धर्मपत्नी ग्रेटा राणा र परिवारजनमा धैर्यधारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन्, कर्मयोगी मधुकर सरप्रति श्रद्धासुमन !

अशोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्