पोग्बालाई भेट्न जिदान दुबईमा, रियल म्याड्रिडमा ल्याउने चर्चा

दुबईमा फिटनेश अभ्यास गर्दै पोग्बा।

दुबई : रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान दुबईमा पुगेर भेटिरहेको देखिएपछि फ्रान्सेली मिडफिल्डर पल पोग्बा स्पेनिस क्लब जान सक्ने चर्चा सुरु भएको छ।

हाल म्यानचेस्टर युनाइटेडमा रहेका पोग्बा कुर्कुचाको चोटको दुबईमा उपचार गराईरहेका छन्। यसबीचमा उनी आफु खेल्न चाहेको क्लबका अधिकारीहरुसँग पनि भेटिरहेका छन्। दुबईमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा जिदानले पोग्बालाई पनि भेटेको जनाइएको छ।

पोग्बाको यो सिजन चोटले राम्रो रहन सकेको छैन। इटालियन क्लब युभेन्ट्सबाट ठुलै चर्चा र रकममा म्यान युनाइटेड भित्रिएका पोग्बाले त्यस अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। क्रिस्टियानो रोनाल्डोले छाडेपछि गत सिजन ठुला प्रतियोगिता जित्न नसकेको रियल म्याड्रिड बलियो बन्ने प्रयाशमा छ।

गत सिजनको अन्त्यतिर जिदान पुन रियल म्याड्रिडमा फर्किएका थिए। त्यसअघि उनले लगातार तीन सिजन रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन बनाएका थिए। पोग्बाले युवा अवस्था हुँदा जिदान आफ्नो रोल मोडल रहेको बताउँदै आएका छन्। जिदान र पोग्बा दुवै फ्रान्सका हुन्। दुवैले देशका लागि विश्वकप जितेका छन्।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्