व्यंग्य

नेता देवो भवः

काठमाडौँ – आफ्नै देशमा यति योग्य नेताहरु पाउनु र नेताहरुलाई पनि समयमै जनताको सेवा गर्नु पर्छ भन्ने बुद्धि आउनु हामी जनताहरुको लागि ज्यादै खुशीको कुरा हो ।

यस्ता नेताहरुको रैती भएर थोरै थोरै वर्षहरुको फरकमा भोट हालेर अत्यन्त सक्षम र दुर्लभ नेताहरुलाई मनग्य नोट कमाउने अवसर जुटाई दिन पाउँदा जनता जति खुशी अरु को होलान् र ? आफ्नो परिवार, आफन्त र आफ्नो ज्यू ज्यान नै नष्ट भईसक्दा पनि त्यसलाई खासै ठूलो कष्ट नमानिकन आफ्ना प्रिय नेताहरुको आर्थिक उन्नतिमा दत्तचित्त रहेर सहयोग पु¥याउनु नै जनताहरुको परम धर्म हो ।

विज्ञापन

आफ्नो त्यही कर्मलाई धर्म सम्झेर अगाडि नबढेर नेताहरुको वास्तविक मर्म नबुझिकन कोही कोही जनताहरुले नेताहरुको विरोध गरेको सुन्दा हामी नेताभक्त जनताहरु दुखित छौं । उहाँहरुले जे गरेपनि र जहिले जति अनि जहाँबाट खान अघि सरेपनि हामीले खुला मनले समर्थन गर्नुपर्छ ।

सधैँ त्यसलाई हामीले निरन्तरता दिनु पर्छ र नेताहरुको आशिर्वाद लिनु पर्छ । नेता भनेका भगवान् हुन् । पहिले पहिले राजालाई विष्णु अवतार मानिन्थ्यो र उनैबाट सबैको कल्याण हुन्छ भन्ने जानिन्थ्यो । अब त्यसो होइन । समय फेरिएको र पूरा देश नै नेताद्वारा घेरिएको छ । अब त ब्रम्हा, विष्णु, महेश्वरको तिनै रुप एउटै नेतामा प्रष्ट रुपमा देख्न पाईन्छ ।

धर्म कमाउन र परलोकमा समेत राम्रो बाटो समाउन नेताहरुकै दर्शन गरे पुग्छ । देउताहरुलाई बरु विभिन्न खाले दान गरेर मात्र मान पु¥याउन सकिन्छ । नेताहरुलाई हामीले गर्ने भनेको त्यही जाबो एउटा मतदान त हो नि । त्यतिमै पनि हामी ठूलो भएर नेताहरुको आम्दानीको दुलो कता छ भनेर पहिल्याउन तिर लाग्नु बेकार छ ।

सबै राजनीतिक दल जनताकै लागि खुलेका, नेताहरु पनि जनताको कसरी हित गर्न सकिन्छ भनेर चुनाव ताका रातदिन केही नभनी भोकै प्यासै जनताहरुको घर दैलोमा डुलेका, जनताको भलाईलाई सर्वोपरी सम्झेर आफ्नो सबै स्वार्थलाई भुलेका र जनताको नाम लिएर नेताहरुकै भलाईमा सधैं मरिमेट्न तयार मनि र मसलवाला कार्यकर्ताहरुलाई पार्टीमा हुलेका देख्दा जनताहरु त्यसै त्यसै भाव विह्वल छन् ।

अहिले त रामायण, महाभारत भन्दा पनि चुनावमा पार्टीहरुद्वारा जारी भएका घोषणा पत्रहरु जन जिब्रोमा झुण्डिएको छ । बाल्मिकी र व्यास जस्ता ऋषिहरुको लेखाईले भन्दा घोषणा पत्र लेखकले जनताको प्यास मेटाएका छन् ।

घोषणा पत्र जस्तो अत्यन्त दुर्लभ ग्रन्थलाई त संसारमा भए जति भाषाहरुमा अनुवाद गर्न सक्यो भने ज्यादै खास हुन्छ । संसारै भरीका राजनीतिक पार्टीहरु कस्तो घोषणा पत्र तयार गरेर निर्वाचनमा जानु र आफ्नो विचार जनताको अगाडि लानु पर्ने रहेछ भन्ने कुरा विदेशका पार्टी र नेताहरुले समेत जान्ने बुझ्ने र सिक्ने मौका पाउने भएकोले हारालुछ भएर बिक्ने अनि हाम्रा नेताहरु यसैगरी सधैंभरी कुर्सीमा टिक्ने सम्भावना रहन्छ ।

घोषणा पत्र पनि दुई चार वटा मात्रै हो र ! सैयौंको संख्यामा पार्र्टीहरु भएकोले कैयौं घोषणा पत्र भएको पनि हामीकहाँ मात्रै होला । देशको क्षेत्रफल र जनसंख्याको अनुपातमा हेर्ने हो भने यसले पनि गिनिज रेकर्ड राख्ने र यसबाट पनि जनताले समृद्धिको अबसर चाख्ने प्रबल सम्भावनालाइ नकार्न सकिने अबस्था नभएकोले यस मार्फत पनि धेरैले डकार्न सक्छन भनेर कूरै नबुझि हकार्न नहुने हुंदा त्यसमा जे लेखिएको भएपनि सबैले दूबै आंखा चिम्लिएर सकार्न पर्छ ।

यस्ता महान र अमूल्य ग्रन्थहरुको बिक्रीले हाम्रो आर्थिक स्तर ज्यादै माथि उक्लेर छोटै समयमा विकसीत राष्ट्रहरुको साथि बन्न बेरै लाग्दैन । राजनीतिक साहित्यतर्फको नोबेल पुरस्कार पनि धेरै वर्षसम्म हाम्रै पोल्टोमा आउने हुनाले देशले कोल्टो फेर्न लामो समय लाग्ने थिएन ।

अहिलेसम्म श्रम शक्ति मात्र निर्यात भएकोमा हामी प्रतिको भ्रम निवारण भएर हाम्रो इज्जत बढ्ने क्रम सुरु हुन्थ्यो । हामीकहाँ अन्तर्राष्ट्रिय भन्दा पनि माथिल्लो स्तरका लेखकहरुको कुनै कमी नभएको र बिशेष कारणले मात्रै हाम्रो बुद्धि त्यस तर्फ नगएको बारे संसारले जान्ने बुझ्ने अवसर पाउने थियो । संसार भरी नाम चलेका ठूला र महान साहित्यकारको जस्तै लेखिसकेर बिर्सने बानी चाहिं यहाँका घोषणा पत्रका रचनाकारहरुको पनि उस्तै उस्तै भएको थाहा पाउँदा ती साहित्यकारहरु पनि दंग परेर आफूलाई मात्रै महान सम्झने भ्रम भंग भएर वस्तविकतामा उत्रन्थे ।

अझ घोषणा पत्रमा लेखे अनुसार कहिले केही पनि काम गर्नु नपर्ने र काम नगरे वापत कतैबाट झर्नु समेत नपर्ने भन्ने थाहा भयो भने त यसको बिक्री अनगिन्ती संख्यामा भएर एक दुई प्रति पाउन पनि समयमै बिन्ति गर्नु पर्ने अवस्था समेत नआउला भन्न सकिन्न ।

हाम्रा नेताहरुले गर्ने भाषणको बारेमा त विदेशमा खासै चर्चा नभएको देख्दा पनि यतैबाट पर्चा बनाएर पठाउनु पर्ने हो कि जस्तो लागेको छ । आफ्नो देश र जनताका लागी जे पनि गर्न तयार भएको भावनाले ओतप्रोत भएका भाषणको रेकर्ड बाहिर निर्यात गर्ने तर्फ अहिलेसम्म कसैले पनि पहल नगरेको देख्दा व्यापारीहरुको बौद्धिक स्तर प्रति दया मात्र प्रकट गर्न सकिन्छ ।

साना ठूला नेता, ग्रामिण स्तरका नेता, सिकारु नेता, जितुवा नेता, हरुवा नेता, सत्तामा पुगेका नेता, सत्तामा नपुगेका नेता, यूवा नेता, प्रौढ नेता, क्षेत्रीय नेता, राष्ट्रिय नेता, आदि आदि जे जस्ता र जुन स्तरका नेता भएपनि सबैको भाषण गर्ने कला र मन्त्र मुग्ध पार्न सक्ने स्तर भएका गला देखेर प्रभावित नहुने हो होला र !

भाषण भन्दा कामलाई ठूलो ठान्ने र त्यसैलाई आफ्नो आदर्श मान्ने विकशित राष्ट्रका जनताहरुलाई हाम्रो नेताहरुको भाषण कति प्रिय लाग्ला । त्यस्ता राष्ट्रका राष्ट्रिय नेताहरुले एक पटक यहाँ आएर हाम्रा नेताहरुसँग भाषण गर्ने कला र तरिका बारे ज्ञान हासिल गरेमा उनीहरुको नेतृत्व क्षमता विकास हुनमा ज्यादै ठूलो मद्दत पुग्ने कुराको संसारभरी प्रचार प्रसार हुनै नसकेको देख्दा पनि यहाँका जनताहरु अत्यन्त दुःखी छन् ।

नेताहरुको भाषण सुन्दा सुन्दा र त्यसलाई मनमा गुन्दा गुन्दा जनताको राजनीतिक चेतनाको स्तर अति विकसित भए पनि सबैतिरबाट जनताको ढाड खुस्किएको र मुखमा माड लाग्न समेत मुश्किल पर्दै गएकोले हाड छाला मात्र बाँकी हुँदा पनि जनतालाई नेताहरुकै भाषणको आड भएको छ ।

यति बुलन्द भाषण गर्ने कला सिक्न पाए अन्यत्रका नेताहरु पनि ज्यादै लाभान्वित हुने थिए । हाम्रो नेताहरुको भाषण सुनेपछि यिनीहरु जस्तो बुद्धिजीवी, यिनीहरु जस्तो देश र जनता प्रेमी, यिनीहरु जस्तो देश र जनताको भलो चिताउने अनि जनहित गर्न नसक्नेलाई ठाडै बिताउने कोही छैन जस्तो लाग्ने आदि आदि त कहीँका नेता पनि हुँदैनन् भन्ने पक्का हुन्छ ।

अझ आकाश पाताल जोडेर जनताको नाममा बोलेका कुरा कहिले पनि पूरा गर्नु नपर्ने सुबिधा समेत आफैले आफैलाई दिएका हुनाले पनि यिनीहरु जस्तै नेता हुन पाए हुन्थ्यो भन्ने कामना सबैले गर्नु राम्रै हो ।

अब त हाम्रा नेताहरुलाई प्रदर्शनीमा राखेपनि पर्यटकहरुको थामी नसक्नु घुईंचो लाग्ने निश्चित छ । नेताहरुले दिने भनेकै भाषण मात्रै हो । भाषण दिने अरु चाहिं सबै लिने भनेकै नेताले मात्रै हो । यो छुट पनि सायद हाम्रो देशमा मात्रै होला । यो कुरा पनि सरकारले आफ्नो वेभ साईटमै राखिदिए अरुले प्रचार प्रसारको लागि फाईट गरी राख्नु पर्ने पनि थिएन ।

यस तर्फ सरकार, मुख्य मुख्य पार्टीहरु र मुख्य मुख्य नेताहरुको ध्यान नपुगेकोमा भने चित्त दुखेर जनताको ज्यान सुक्न थालेको छ । जनताको हितको लागि भएपनि यो काम चाहिं बेलैमा भईदिए राम्रो हुने थियो ।

हाम्रा नेताहरुको क्षमताको बारेमा हजार जिब्रा भएका शेष नागले पनि बयान गर्न नसक्ने देखिन्छ । उनीहरुले मिलेर र आफ्ना सबै स्वार्थहरु निलेर भएपनि राष्ट््िरय समृद्धि,सुशासन,भ्रष्टाचार पुरै नियन्त्रण,आर्थिक बिकासमा ठुलो फड्को,जताततै रेलै रेल,जताततै पानी जहाज,कानुनी शासन,मानव अधिकारको पूर्ण सम्मान,माफियाहरु निर्मुल आदि आदि त छोटो समयमा पुरा गरेर घर घरमा नेताहरुको फोटो झुन्ड्याउने र बिरोध गर्नेले खोटो आश्वासन भनेपनि जनताले नपत्याउने निश्चितै भयो ।

लोकतन्त्र र गणतन्त्र ल्याएर प्रजातन्त्रलाई नै उछिनेर अगाडि बढ्दै गएको कुरा त संसार भरिको जनताको मनमा गढ्दै गएको छ । पहिले पहिले दुब्लो ख्याउटो देखिने सबै नेताहरु अहिले ज्यादै हृष्टपुष्ट र रातो पिरो देखिंएकाले सबैलाई जनताले आफ्नो हिरो नै सम्झेका छन् ।

नेताहरुको भुँडी हेर्दैमा उनीहरुको पाचन शक्ति बारे कसैले बाचन गरिराख्नु पर्दैन । उनीहरु जस्ता सर्वज्ञाता र सर्वदाता कोही पनि छैन । उनीहरुले नजानेको, जनताले भने अनुसार उनीहरुले नमानेको र जनतालाई आफ्नो नठानेको केही छैन ।

उनीहरुको मौखिक र देखावटी व्यवहार, आचरण, बोलीचाली, कार्यशैली, त्याग तपस्या र बलिदान, जनताले अहिलेसम्म प्रत्यक्ष्य अनुभव गर्न नपाएपनि भाषण मार्पmत देखिएको सुनिएको जानिएको सेवाभाव, उनीहरुले गरेको जनभावनाको कदर, जनताकै हितमा हुने कुरा मात्रै सदर अनि जनताको अहित हुने सबै कुराको बदर हुन्छ भनेको देख्दा र सुन्दा जनताले भन्न करै लाग्छ–नेता देवो भव:।

कार्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्