पक्राउ परेका ‘विप्लव’नेता कार्यकर्तालाई संगठित र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता

दाङ–प्रहरीले नियन्त्रणमा लिएको झण्डै ३६ घण्टा पछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न हातहतियार खरखजानासहित पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्ताहरुको विवरण सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद बिक्रम शाहले जानकारी दिए ।


प्रहरीले दुईवटा अमेरिकन लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँ समेत बरामद गरेको छ ।

यसैगरी २४ थान मोवाईल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्यूनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबहरु बरामद गरेको सार्वजनिक गरिएको छ ।

पक्राउ परेकाहरुलाई संगठित अपराध, राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्