निर्माण सामग्री ढुवानीमा ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ

काठमाडौँ – निर्माण सामग्री ढुवानीको क्रममा सर्वसाधारणलाई ठगी गर्ने निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन तथा त्यसका चालक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यकाका केही डिपो सञ्चालकले इट्टा, गिट्टी, बालुवा, चिप्स, ढुंगासहितका निर्माण सामग्री ढुवानी गर्ने क्रममा मिनि ट्रकमा पाँच इन्चसम्मको फलाम वा काठको बक्स राखेर परिमाण कम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

यसरी ठगी भएको सूचनाको आधारमा काठमाडौँका विभिन्न डिपोमा छापा मार्दा गठीमा संलग्न भएको देखिएपछि २३ डिपोका सञ्चालक, सवारी चालक वा मिनि ट्रकलाई नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाको विशेष टोलीले शुक्रबार बिहान छापा मारेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा एक ट्रिपमा १०० क्यूफिट भनि बिक्री गर्दा जम्मा ८२.६३ क्यूफिट मात्रै ढुवानी गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ। यस्तो गर्दा ग्राहक एक ट्रिपमा १६ सय २० देखि २२ रुपैयाँसम्मको ठगीमा पर्ने गरेका छन्।

पक्राउ परेका डिपो सञ्चालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टर प्राइजेज सप्लायर्सका विरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दिपेन्द्र केसी, कामना इन्टर प्राइजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका सुकबहादुर लामा तथा शुभकामना सप्लायर्सका सुरेन्द्र केसी छन्।

यस्तै खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्तायर्सका सन्तोष कुँवर, श्री भूमि सप्लायर्सका श्यामबहादुर मगर तथा नो नेम सप्लायर्सका पुष्कर थापा पनि पक्राउ परेका छन्।

यसैगरी काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नव अरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।

उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्