जितपछि पदाधिकारीहरुको प्रतिवद्धता

‘एनआरएनएको छवि सुधारको विकल्प छैन, विश्वका सबै नेपालीलाई समेट्ने छौँ’

‘एनआरएनएको छवि सुधारको विकल्प छैन, विश्वका सबै नेपालीलाई समेट्ने छौँ’

काठमाडौँ– नव निर्वाचित गैरआवासी नेपाली संघ ‘एनआरएनए’ का पदाधिकारीले आफ्नो संस्थाको बिग्रँदो छवि सुधारको विकल्प नभएको भन्दै आफ्ना पूर्व वाचा अनुसार विश्वका सबै नेपालीलाई एक जुट गराई नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

राजधानीको होटल हायतमा सम्पन्न संघको आगामी दुई वर्षका लागि शुक्रबार निर्वाचित संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, महिला उपाध्यक्ष रविना थापा, महासचिव हेमराज शर्मा, सचिव गौरी जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र सहकोषाध्यक्ष लोक दाहालले आफ्नो प्रतिवद्धतालाई आत्मसाथ गर्दै उत्कृष्ट काम गरेर देखाउने दाबी गरेका हुन्।

विज्ञापन

आधिकारिक रुपमा निर्वाचनको मतपरिणाम सार्वजनिक भए लगत्तै आफ्नो विजय उत्सवमा सामेल भएका अध्यक्ष पन्तले नेपालमा १० अर्बको कोष खडा गर्ने, एनआरएनए सदस्यता शुल्क निःशुल्क गर्ने, रोजगारी सिर्जना गर्ने, अनलाइन प्रविधिबाट सबै काम गर्ने लगायत आफ्ना पूर्वयोजना र प्रतिवद्धता कार्यान्वयन गर्न अव बाटो खुलेको र त्यसबाट आफूपछि नहट्ने घोषणा गरे।

उपाध्यक्ष पदमा विजयी भएका अमेरिकाका सोनाम लामाले पनि आफ्ना सात प्रतिवद्धता अघि सार्दै त्यसको सफलताका लागि आफूले हरेक प्रयास गर्ने दाबी गरे। उनको खासगरी नेपाल सरकारले लिएको लक्ष्यमा सहयोग गर्ने योजना छ।

विजय उत्सवमा सामेल अर्का उपाध्यक्ष मन केसीले पनि एनआरएनएमा आवद्ध भएका मात्रै नभई संसार भरी छरिएर रहेका नेपालीको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन आफू प्रतिवद्ध रहेको बताए।

अमेरिकाबाटै प्रतिनिधित्व गर्ने महिला उपाध्यक्ष रविना थापाले समग्र महिलालाई नेतृत्व तहमा ल्याउनका लागि नै आफू पनि निर्वाचनमा होमिएको भन्दै अब समग्र महिलाको वृत्तिविकासका लागि काम गर्ने बताइन्।

विजय उत्सवमा व्यस्त देखिने बेलायतबाट प्रतिनिधित्व गरेका महासचिव हेमराज शर्माले पनि एनआरएनएको विकास र यसको उपलब्धी संस्थागत बनाउन आफूले सबैलाई एक जुट बनाउने बताए।

एनआरएनएमा अनियमितता र विकृति भएको बढी सुनिन थालेको र त्यसको अन्त्यमा आफू लाग्ने जापानबाट प्रतिनिधित्व गर्ने कोषाध्यक्ष महेश श्रेष्ठको भनाई छ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाधिवेशन यही अक्टोबर १५ तारिखमा होटल हायतमा सुरु भएको थियो।

१६ तारिख अर्थात बिहीबार बिहान १० बजेर २० मिनेटमा एनआरएनएको निर्वाचन सुरु भएको थियो भने मतगणना राति ११ बजेबाट मात्रै सुरु भएको थियो।

शुक्रबार बिहान साढे सात बजे मतगणना सकिए पनि त्यसको आधिकारिक जानकारी भने दिउँसो एक बजेमात्रै सार्वजनिक भएको थियो।

मतपरिणाम सार्वजनिक हुनु अगावै होटल परिसरमा उनका समर्थकहरु बाजासहित पुगेका थिए।  परिणाम सार्वजनिक भएसँगै नव निर्वाचित पदाधिकारीहरुलाई बोकेर परिसरमा घुमाई बधाई तथा शुभकामना दिइएको थियो।

एनआरएनमा राजनीति र पैसाको मोलमोलाई बढी हुने गरेको गुनासो व्यापक भइरहेका बेला आगामी दुई वर्षका लागि त्यसको नेतृत्वको जिम्मेवारी पाएकाहरुलाई काम गर्न चुनौति देखिन्छ। तर उनीहरुले आफ्नो पूँजि, क्षमता, ज्ञान र सीप कसरी प्रयोग गर्छन् त्यो समयसँगै बाहिर आउने छ।

भिडियो रिपोर्ट हेर्नुहाेस्

तस्बिर तथा भिडियो : रविन आचार्य/देश सञ्चार

कार्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू