सिरियामा टर्कीको सैन्य आक्रमण

ट्रम्पको नजरमा टर्की–कुर्दिस भिडन्त ‘केटाकेटी’ फाइट जस्तो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको उत्तर–पूर्वी क्षेत्रमा टर्किस सैनिक र कुर्दिसबीच भएको भिडन्तलाई बालबालिका बीचको लडाईँको संज्ञा दिएका छन्।

टेक्सासमा भएको र्‍यालीमा ट्रम्पले टर्किस सैनिक र कुर्दिसबीचको भिडन्तका बारेमा भनेका छन्, ‘दुई बच्चाहरुलाई मैदानमा लड्न दिएको र त्यसपछि छुट्याएको जस्तै हो।’

अमेरिकाले टर्कीलाई सीमा क्षेत्रमा गरिरहेको सैन्य आक्रमण रोक्न आग्रह गरेको थियो। टर्कीले त्यसमा सहमति जनाउँदै कुर्दिस लडाकुले सीमा क्षेत्र छोड्न लाग्ने दिनसम्मका लागि सैन्य आक्रमण रोकेको छ।

टर्कीले यही अक्टोबर ९ (असोज २२ गते) देखि सिरियाली क्षेत्रमा सैन्य आक्रमण गरेको थियो। टर्की तथा उसको गठबन्धन सेनाले कुर्दिसमाथि गरेको आक्रमणमा युद्ध अपराध भएको हुन सक्ने भन्दै विश्वव्यापी रुपमा चासो तथा चिन्ता व्यक्त भएको छ।

सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसहरुको सैन्य समूह सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा अमेरिकी सैनिकलाई साथ दिँदै आएको थियो। कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ।

टर्की कुर्दिसलाई आतंकवादी मान्छ। सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो। टर्कीमा पनि कुर्दिसको बसोबास छ। टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे। अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो। ट्रम्पले कुर्दिस नियन्त्रित क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचना भइरहेको छ।

ट्रम्पकै निर्णयका कारण कुर्दिस बाहुल्य क्षेत्रमा मानवीय संकटको अवस्था आउन लागेको बताइन्छ। यस्तै सो क्षेत्रमा कुर्दिसको नियन्त्रमा रहेका आइएसका लडाकु भाग्न सफल भएको पनि जनाइएको छ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्