दशगजा छेउमै सर्‍यो छोटी भन्सार, पहिलो दिन दोब्बर जाँचपास

नेपालगञ्ज – नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखालाई जमुनाहामा सारेको छ। दशगजा नजिक रहेको जमुनाहामा यात्रु शाखा सारेकाले अब भारतबाट सामान लिएर आउने सबैले अनिवार्य जाँचपास गर्नुपर्ने भएको छ।

यात्रु शाखा जयसपुरमा हुँदा सामान लिएर नाका पार भइसकेका यात्रुहरु विभिन्न बाटोबाट छिर्ने समस्या थियो। दशगजामै यात्रु शाखा राखिएपछि अब कोही पनि करको दायराबाट भाग्न नसक्ने भन्सार कार्यालयले जनाएकाे छ।

शुक्रबार भन्सारको यात्रु शाखालाई जमुनाहामा राखिएपछि जाँच पास गर्ने ठूलो भीड लागेको थियो।

बिहीबार भन्सार कार्यालयले दुई सयजनाको प्रज्ञापन पत्र काटेकोमा यात्रु शाखा जमुनाहामा सारेपछि शुक्रबार चार सयजनाको प्रज्ञापत्र पत्र काटेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए।

‘जमुनाहामा यात्रु शाखा राख्दा राजश्वमा वृद्धि हुने निश्चित भएको छ। भारतबाट आउने जो कोही यात्रु शाखा भएर मात्रै निस्किन पाउँछन्’, भन्सार प्रमुख निरौलाले भने, ‘हिजोको आजै दोब्बरले प्रज्ञापन पत्र काटे।’

भन्सार प्रमुख निरौलाका अनुसार जमुनाहामा रहेको यात्रु शाखा (छोटी भन्सार) ले पाँच हजारसम्मको जाँच पास गर्नेछ। जयसपुरमा रहेको मुख्य कार्यालयले ठूला गाडीहरुको जाँचपास गर्ने व्यवस्था मिलाइएको छ। निरौलाले सय रुपैयाँदेखि पाँच हजारसम्मको सामानको जाँच पास छोटी भन्सारबाट हुने बताए।

नाकाबाट ५/६ सय मिटरको दूरीमा भन्सार कार्यालय रहँदा नाका पार भइसकेका यात्रुहरु बीचका अरु बाटोबाट नेपालगञ्ज निस्किने गरेको गुनासो रहँदै आएको थियो।

जमुनाहाबाट भित्र छिरेपछि जमुनाहा गाउँ, जयसपुरका विभिन्न बाटोबाट सामान ‘पास’ हुने अवस्था थियाे। अब दशगजामै छोटी भन्सार राखिएपछि त्यसरी जाँच पास नभई सामान भित्रिने समस्या हटेको छ।

दशगजा छेउमै राखिएको यात्रु शाखाका कारण लागेको ठूलो भीड दशगजासम्मै पुग्दा सुरक्षाको चिन्ता बढेको छ।

नेपालगञ्जको मुख्य नाकाबाट नै ‘क्यारिङ’ गर्नेले सामान ओसार्ने गरेको व्यापारीको गुनासो रहँदै आएको छ।

विगतमा बाँकेमा आधा दर्जन नाकामा भन्सार कार्यालय रहेका थिए। माओवादी द्वन्द्वकालमा ती सबै खाली भएका छन्। ती आधा दर्जन छोटी नाकालाई सञ्चालन गर्नेतर्फ सरकारले ध्यान दिएको छैन।

मुख्य नाकामा कडाई हुँदा छोटी नाकातर्फ तस्करको गन्तव्य हुन सक्ने जानकारहरु बताउँछन्।

कार्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्