एनआरएनएमाथि उब्जिएका केही प्रश्नहरू

गैरआवासीय नेपाली संघको नवौं अधिवेशन नयाँ कार्यकारी समतिको चयन गर्दै सकिएको छ । ८० भन्दा बढी देशमा फैलिएको यो संस्थाको सञ्जाल विश्वभर फैलँदो छ ।

करिब ७२ हजारको हाराहारीमा दर्ता भएका सदस्य रहेको यो संस्था आजका अवस्थामा आइपुग्दा यसको दायित्व र दायरा फराकिलो हुँदै गएको छ । आफ्नो पखेँटा संसारभर फैलाइरहँदा यस संस्थासामु अनेक चुनौतीका पहाड पनि चुलिँदै जान थालेको अनुभव गर्न सकिन्छ ।

विज्ञापन

नवौं अधिवेशन र चुनाव


मैले आशा गरेको थिएँ कि एनआरएनए संस्थाले आफ्नो नयाँ नेतृत्वका लागि चुनावी मैदानमा जाँदै गर्दा कमसेकम केही राम्रा दृष्टान्तहरू पेश गर्नेछ । मलाई लाग्थ्यो— अमेरिका, अस्ट्रेलियामा वा अन्य विकसित मुलुकमा हुने प्रतिष्पर्धीहरूको जस्तै एउटा स्वच्छ बहस र छलफल अध्यक्ष पदका प्रत्यासीले गर्नेछन् अनि त्यही छलफलका आधारमा मतदाताले आफ्नो नेतृत्व छान्नेछन् ।

त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीहरूले पनि आफ्ना एजेण्डा र विषयहरू स्वच्छ तरिकाले बहस गर्दै मतदातालाई आफ्नो कित्तामा पार्ने कोशिस गर्नेछन् । त्यो मेरो केवल दिवास्वप्न सावित भयो । त्यस चुनावी माहौलमा एजेण्डाहरूको छलफलभन्दा पनि आरोप र प्रत्यारोपको कर्कस ध्वनि मात्र सुनियो ।

मैले त्यहाँ कांग्रेस र कम्युनिष्टको गुट बनाएर एकआपसमा कार्यकर्ताहरू हानाहान गरिरहेको तथा कुर्सी फोडिरहेको दृश्यहरू मात्र देखिरहेँ । लाग्थ्यो त्यो कुनै स्वस्थ प्रतिष्पर्धा गर्ने चुनावी मैदान होइन, त्यो त योद्धाहरू लड्ने रणभूमि थियो । अधिवेशनको माहौल देखेर धेरै मानिसहरू यति आजित थिए कि एनआरएनहरू भनेका देश दुनियाँ देखेर नेपालीलाई ज्ञान, सीप र पद्दति सिकाउन लायक कत्ति पनि रहेनछन् भन्ने निक्र्योल निकालिरहेका थिए ।

वास्तवमा ती दृश्यले संसारभरका लाखौं प्रवासी नेपालीहरूको मनलाई छियाछिया बनाइरहेका थिए । त्यहाँ जम्मा भएका एनआरएनहरू कत्ति पनि सभ्यता, संस्कृति र पद्दति सिकेका एनआरएनहरू भएको महसुस कसैले गर्न पाएनन् । ती त हुलहुज्जत गर्न र प्रवासी नेपालीको छविलाई धूलिसात गर्न जम्मा भएका केही सय छाडा पशुहरूको झुण्ड जस्तो देखिएको थियो ।

एनआरएनए र राजनीति


एनआरएनएमा राजनीतिकरण पहिलेदेखि नै हुँदै आएको हो । अहिले यसको मात्रा बढ्दै बढ्दै गएर छचल्किएको मात्रै हो । अहिले यसमा राजनीतिकरण यति धेरै भयो कि अब त प्यानलवेगर र राजनैतिक पार्टीको साथ र समर्थनवेगर चुनाव लड्नेहरूले जित्ने अवस्था नै छैन ।

यो अवस्था एनआरएनएको केन्द्रीय चुनावमा मात्रै होइन अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका देशहरूमा पनि उस्तै रूपमा व्याप्त छ । एउटा यस्तो समूह विदेशमा छ जसले विदेशमा गएर पनि नेपालको पार्टीको झण्डाको ओत लाग्नु आफ्नो अहोभाग्य ठान्दछ ।

त्यो समूहले नेपालका नेताहरूले कि त अन्तरक्रियाका नाममा या त छलफलका नाममा विदेश बोलाएर आफ्नो पार्टी र नेताहरूप्रति भक्तिभाव प्रस्तुत गर्दछ र तिनै नेताहरूको छत्रछायाँमा बस्न रुचाउँछ । हो, तिनै व्यक्तिहरूको चंगुलमा यो एनआरएनएको नेतृत्व विस्तारैविस्तारै बेरिंदै गइरहेको छ । यो नै यस संस्थाको शाख गिराउने एउटा प्रमुख विषको रूपमा रहँदै आएको छ ।

पार्टीका नेतासँग वैठक गरेर आफ्ना उम्मेदवारहरू छान्नु यसभित्र हुने राजनीतिकरण एउटा मात्रै नमूना हो । पार्टीलाई सहयोगको नाममा लेवी बुझाउनु तथा नेताहरूको समर्थन लिन तछाडमछाड गरिनुले यस संस्थाको गरीमामाथि प्रश्नचिह्न खडा गरेको छ ।

डा. उपेन्द महतोले अधिवेशनमा राजनीतिकरण हावी भयो भन्दै बहिष्कार गर्नुलाई संस्था शुद्धिकरण र राजनीतिबाट मुक्त गर्ने दायित्वतर्फको एउटा बलियो दबाबका रूपमा नयाँ नेतृत्वले लिनुपर्ने आवश्यकता छ । यसलाई राजनीतिबाट मुक्त राख्नका लागि सार्थक प्रयत्न यदि नयाँ कार्यसमितिले नगरेमा संस्थाप्रतिको आकर्षणमा कमी आउने संकेत प्रष्ट देखिँदैछ ।

राजनीतिकरण बढेको प्रभावस्वरुप अस्ट्रेलियामा फेडेरेसन अफ नेप्लिज कम्युनिटिज एसोसिएसन अफ अस्ट्रेलिया अर्थात् ‘फेन्का’ गठन भएको छ । यसलाई बेग्लै उद्देश्य भएको संस्था भनेर संस्थापकहरूले व्याख्या गर्न खोजे पनि एनआरएनए अस्ट्रेलियाभित्र हुने राजनैतिक प्रभाव र संस्थाले समाजका बौद्धिक व्यक्तिहरूलाई उचित स्थान दिन नखोज्नुको परिणामस्वरूप यसको गठन भएको जानकारहरू बताउँछन् ।

अस्ट्रेलियामा मात्र होइन यदि एनआरएनए राजनीतिबाट मुक्त हुन नसक्ने अवस्था आएमा अब विस्तारै यसमाथि संकटका बादलहरू मडारिने अवस्था अन्य देशहरूमा पनि आउनेछन् । अबको नेतृत्वको यो संस्थालाई राजनीतिबाट मुक्त गर्न कस्तो कदम चाल्छ, त्यो नै यो संस्थामाथि प्रतिष्ठामाथि उब्जिएको अहिलेको प्रमुख प्रश्न पनि हो ।

टाट पल्टिएको एनआरएनए


नयाँ नेतृत्वले एनआरएनएलाई हाँक्दै गर्दा संस्थामाथि १५ करोड़ ऋणभार थपिएको समाचारहरू बाहिरिएका छन् । यो संस्था किन ऋणात्मक स्थितिमा पुग्यो भनेर यसको नेतृत्वले बताउलान् । तर सबैभन्दा महत्वपूर्ण विषय भनेको यो संस्थाले आफूलाई कत्तिको पारदर्शी संस्था बनाउन सक्छ भन्ने हो ।

वित्तीय अनुशासन केवल खर्च विवरण र संस्थाको अडिट रिपार्ट पेश गरेर मात्र कायम हुन सक्दैन । यसको नेतृत्वमा रहेका व्यक्तिले त्यो खर्च कसरी गरेका छन् भन्ने कुरा मुख्य हो । अहिले यो संस्थाको खर्च विवरण र अडिट रिपोर्ट हेर्दा वित्तीय अनुशासनको धज्जी उडेको देखिन्छ ।

अर्बपतिहरूले नेतृत्व गरेको यो संस्था ऋणात्मक अवस्थामा पुग्नु र संस्था चलाउन फेरि तिनै अर्बपतिहरूसँग ऋण मागिनु दुःखको कुरा हो । ऋण माग्दा पनि अझ यसलाई सामाजिक सञ्जालमा संस्थाले ठूलै उपलब्धि हासिल गरेसरी झ्याली पिटिनु भनेको आफ्नै बेइज्जती गर्नुसरह हो । यस्ता कुरीतिप्रति संस्था सचेत हुनु जरुरी छ । नयाँ नेतृत्वले यसतर्फ ध्यान देओस् ।

नन रेसिडेन्ड उद्योग वाणिज्य संघ


एनआरएनएमा चुनाव लड्ने वा यसको नेतृत्व गर्नेहरू अधिकांश व्यापारीहरू नै छन् । उनीहरूले विदेशमा गएर एक हदसम्म पैसा कमाएर अब नाम पाइने आशामा यसको नेतृत्वमा पुग्ने आकाङ्क्षीहरू बन्छन् । अनि जहाँ पैसा ठूलो मानिन्छ त्यहाँ इमान्दारिताभन्दा बढी जालझेल हुन्छ ।

अनि चुनाव जित्नका लागि अनेक तिकडम गरिन्छ, चलखेल गरिन्छ दाउपेच थापिन्छ र मतहरूको किनबेच गरिन्छ । एनआरएनएको चुनावमा यी सबै दाउपेच राम्रैसँग प्रयोग हुँदै आइरहेका छन् ।

पैसालाई सर्वोपरि मान्ने वर्गले लगानी र अर्थका बडाबडा कुरा गर्छन् । त्यसैले त विदेशमा दुःख पाएका वर्गको कुरा छायाँमा पर्छन् । पैसा खर्च नगर्ने तर ज्ञान र सीप भएकाहरू पाखा लाग्छन् । कतिलाई यो पैसाको फन्दाभन्दा टाढा बस्नु नै उचित लाग्छ भने धेरैलाई यो सञ्जालमा पुग्ने हैसियत नै हुँदैन ।

यसको नेतृत्वमा पुग्नका लागि कति पैसाको खोलो लगाउनु आवश्यक छ भन्ने कुरा नै यसप्रति सामान्य मानिसहरू विकर्षित हुनुपर्ने कारणहरू पर्याप्त देखिन्छन् । नेतृत्वले सामान्य विदेशिएका मानिसका समस्यालाई बुझ्न र समेट्न यो संस्थामार्फत् कहिल्यै पनि इमान्दार प्रयास गरेको देखिँदैन ।

आर्थिक रूपमा सम्पन्न व्यक्तिले संस्थालाई हाँक्नु नराम्रो कुरो कदापि होइन । आर्थिक रूपमा सवल भएकाहरूसँग संस्थालाई दिनुपर्ने पर्याप्त समय हुन्छ । तर समस्या भनेको उनीहरूले केवल लगानीका कुरा, अर्थका कुरा र पैसाका कुरा गरिरहँदा विदेशमा बस्ने ठूलो वर्ग जो श्रम गरेर बाँचिरहेको छ, अनि जसलाई यस संस्थाको नेतृत्वमा आउने कुनै फुर्सद, समय र पैसा छैन, तिनीहरूको समस्याहरू छायाँ पर्दै गइरहेका छन् ।

उनीहरूका समस्याहरूको सम्बोधन गर्नका लागि त्यही वर्गबाट नेतृत्वमा आउने सक्ने माहौल यसभित्र बनाइन जरुरी छ । होइन भने अब यो संस्थालाई नन रेसिडेन्ड उद्योग वाणिज्य महासंघमा परिणत हुँदैछ भन्नेमा दुईमत नहोला ।

एनआरएनएको गिर्दो शाख


केही महिना पहिले एनआरएनएका निवर्तमान अध्यक्षले हवाइजहाजमा यात्राका क्रममा दुव्यर्वहार गरेको खबर सार्वजनिक भयो । नेपालका हरेक मिडियाले सो खबर छापे । विकसित समाजमा सार्वजनिक महत्वको पदमा बसेका व्यक्तिले कुनै नैतिक रूपमा खलल पुग्ने व्यवहार गरेमा राजिनामा दिने प्रचलन छ । विकसित समाज देखेका र भोगेका अध्यक्षबाट मैले पनि केही नैतिक जिम्मेवारी तथा दायित्वबोधको आशा गरेको थिएँ ।

कमसेकम राजिनामा नै नभए पनि स्पष्टीकरण दिनु र घटना के भएको थियो भनेर आफ्ना सदस्यलाई जानकारी गराउन पनि उनले यसबारेमा स्पष्टीकरण दिनु पर्दथ्यो । तर यससम्बन्धी उनको न कुनै स्पष्टीकरण आयो न कुनै जानकारी । जवाफदेहिताको धज्जी भनेर केलाई भन्छन् भनेर यदि कसैले मलाई सोध्छ भने यो एउटा प्रमुख उदाहरण हुन सक्छ ।

अधिवेशनका लागि डेलिगेट्स छान्दा जापानमा, अस्ट्रेलिया लगायतका देशमा प्रश्नहरू बारम्बार उठिरहे । धेरै सदस्यहरूले आफ्ना अध्यक्षसामु प्रश्न राखिरहे केही जवाफ पाउने आशामा तर यो संस्थाभित्र जवाफदेही प्रवृत्तिको धज्जी उडाउने प्रचलन बढ्दै गएको छ ।

कसैले पनि आफ्ना सदस्यलाई यसबारेमा जानकारी दिन त के यससम्बन्धी केही बोल्दा पनि बोलेनन् । आफ्ना गुटको अनुकूलको सूचि अधिवेशनमा लैजाने प्रवृत्ति नौलो भने होइन । नयाँ नेतृत्वले यस्ता विकृतिलाई नियन्त्रण गर्न उचित कदम चालेर जवाफदेही र पारदर्शी बन्न सक्छ त ? भन्ने प्रश्न पनि अहिले उठिरहेको छ ।

र एउटा आशाको किरण


कुनै पनि संस्था आफैमा नराम्रो हुँदैन । यसलाई हाँक्ने जिम्मेवारी लिएकाहरूले यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्दछ । संसारका ८० भन्दा बढी देशमा फैलिएको यो सञ्जालले विदेशमा नेपालको प्रतिनिधित्व गर्नेदेखि लिएर विदेशी राजनैतिक दलहरूसँग लवी गर्ने महत्वपूर्ण कार्यहरू बेलाबेलामा गर्दै आएको छ ।

महाभूकम्प जाँदा संसारभरिबाट नेपाललाई सहयोग गर्नदेखि लिएर नाकावन्दीको विरोधको स्वर विदेशमा पुर्‍याउन प्रवासीहरूले मुख्य भूमिका खेल्दै आएका छन् । अन्तर्राष्ट्रिय समुदायसँग नीति निर्माणदेखि नेपालको विकासमा सहयोग पु¥याउन पनि भूमिका खेल्दै आएका छन् ।

हरेक एनआरएनले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सानो वा ठूलो लगानी नेपालमा गर्दै आएका छन् । संस्थागत रूपमा त्यसलाई व्यवस्थित गर्ने नारा हालसम्म कार्यान्वयन हुन नसके पनि त्यसको सम्भावना दिनप्रतिदिन मजबूत बन्दै गएको छ । यति ठूलो डायस्पोरालाई संगठित गर्ने एउटा मात्र संस्था एनआरएनए नै हो ।

अबको नेतृत्वले संस्थालाई पारदर्शी, जवाफदेही, सबै समुदायलाई समेट्न सक्ने र राजनीतिबाट पर राखेर मातृभूमिको सेवामा समर्पित गर्नुपर्ने ठूलो जिम्मेवारी आएको छ ।

त्यसको जवाफ विस्तारै समयले दिँदै जाला ।

शुभकामना !

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्