दौडने मात्र हो भन्ने लाग्थ्यो, तर होइन रहेछः धावक निमेश गुरुङ

धावक निमेश गुरूङ

मोरङ – ‘यसपटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुने सपना डेंगीले चकनाचुर पार्‍याे’, मलिन आवाजमा उनले भने। जन्मथलो नेपाल भए पनि ११ वर्षअघि सिंगापुरको प्रहरीमा छनोट भएर कर्मथलो उतै बनाएका ३१ वर्षीय धावक निमेश गुरूङमा पीडा थियो।

यसअघि दुईपटकको विदामा नेपाल आउँदा कम समय र पारिवारिक भेटका कारण राष्ट्रिय प्रतियोगिताको छनोटमा सहभागिता जनाउन नपाएका गुरूङ यसपटक डेंगीका कारण ट्र्याक बाहिर भए।

विज्ञापन

उनले भने, ‘विदेशमा रहँदा धेरै प्रतियोगितामा सहभागिता जनाउँदै कर्मथलो र जन्मथलोको शीर उच्च पारेँ। यसपटक जन्मथलोमा राष्ट्रिय झण्डा बोकेर दौडिने संकल्प थियो। बिरामी हुँदा सबै तुषारापात भयो।’

संखुवासभा जिल्लाको विकट गाँउ मादी मुलखर्क–४ मा विपन्न परिवारमा २०४५ सालमा जन्मिएका गुरूङको जीवन यात्रा धेरैले कल्पना गरे जस्तो छैन। आमा–बुबा, तीन छोरी र दुई छोरा गरी सात परिवारको जिम्मेवारी बहन गर्ने क्रममा बुबा दुर्गाबहादुर २०५१ सालमा संखुवासभाको घरखेत साहुकहाँ धितो राखेर खाडी मुलुक पसिना चुहाउन पुगेका थिए।

परिवारका साथमा दसैँमा टीका लगाउँदै निमेश।

त्यसबेला घरमा रहेका ६ वर्षे निमेशसँगै आमालाई भविष्य सुखमय बन्ने आशा थियो। तर, त्यस विपरीत दुर्गा काम गर्ने सिलसिलामा दुर्घटनामा परे। उनलाई गम्भीर अवस्थामा नेपाल फर्काउनु पर्‍यो। त्यसपछि घरपरिवारको सम्पूर्ण जिम्मेवारी निमेशमाथि आइपर्‍यो। त्यसपछि घरखेत साहुलाई जिम्मा लगाउँदै गुरूङ परिवार तेह्रथुम बसन्तपुर बसाई सर्‍यो। जहाँ आमा मनमायाले जेनतेन गर्दै छोराछोरीको पढाई सक्न समय खर्चिन्।

कक्षा १० सकेर बसन्तपुर झरेका उनले बसन्तपुरबाटै १२ कक्षा पास गरे। त्यसपछि, नयाँ जोसका साथ परिवारको जिम्मेवारी सम्हाल्दै निमेश काठमाडौँ पसेका थिए।

सो क्रममा उनले सुरुमा काठमाडौँमा विभिन्न होटलमा सुरक्षा दिने कामसमेत गरे। उनी सम्झन्छन्, ‘त्यो बेलाको समय मेरो लागि निक्कै कष्टकर थियो। घरमा बिरामी बुबा–आमा भाइबहिनीको हेरचाह गर्ने कुरा मात्र मनमा खेल्थ्यो। त्यसैले पनि जस्तो भएपनि काम गर्ने मनसायमा थिएँ।’

यसै क्रममा सो समय नेपाली सेनामा जागिरको आवेदन खुलेको स्मरण गर्दै गुरूङ भन्छन्, ‘होटलबाट नेपाली सेनामा रहेर राष्ट्रको हितमा काम गर्छु भन्ने उत्साहका साथ दर्खास्त दिएँ। १२ कक्षा उतीर्ण थिएँ। सेनामा भए भविष्य सुनिश्चित हुनेमा विश्वस्त थिएँ।’

तर, समय र भाग्यले उनलाई अन्तै डोर्‍याउने निर्धारण गरेको थियो। उनी सेनाका लागि अयोग्य भए। त्यसपछि मन मारेका गुरूङले अन्तिम प्रयासका रुपमा सिंगापुर प्रहरीमा आवेदन दिए। उनी सम्झन्छन्, ‘त्यसबेला सिंगापुर पुलिसमा उतीर्ण नभएको भए पक्कै आज कुनै तेश्रो मुलुकमा श्रम पसिना बगाइरहेको हुन्थेँ।’

दुर्गाबहादुर र मनमाया गुरूङको जेठो छोरा निमेश भविष्य खोज्दै गर्दा २० वर्षको उमेरमा २०६५ सालमा सिंगापुर पुगे। सिंगापुर प्रहरीमा काम सुरु गरेको तीन वर्ष त धेरै कुरा साेच्दैमा बितेको उनी बताउँछन्।

यद्यपि पहिलोपटक उनले प्रहरी भित्र हुने विभिन्न खेलकुद मध्ये दौडमा मन बसाए। ‘काम गर्दै खेल्न भने गाह्रो थियो मेरो लागि’, उनले भने।

२०६९ सालमा उनी पहिलो पटक आफ्नै यूनिट भित्रको प्रतिस्पर्धामा स्वर्णपदक हात पार्न सफल भए। त्यसपछि यूनिट भित्र चर्चा पाएका गुरूङले सिंगापुर प्रहरीले आयोजना गरेको ट्र्याक एण्ड फिल्डको ५ हजार र १० हजार मिटरको दौडमा सहभागिता जनाए।

जहाँ उनले सिंगापुरको १७ वर्ष पुरानो कीर्तिमान समेत भंग गरे। त्यसपछि निमेशले ट्र्याकमा असफलतालाई फर्किएर हेर्नुपरेको छैन। विशेष हाफ म्याराथनका लागि निमेशको प्रदर्शन हेर्न लायक छ। सिंगापुर प्रहरीमा उनको प्रदर्शन दरिलो भएसंँगै २०७० सालमा मलेशियाका लागि उनी छनाैटमा परे। उनले मलेशियामा पनि केन्याका धावकलाई पछिपार्दै दोस्राे स्थान हासिल गरे।

गुरूङले २०७२ मा ४८ औँ सिंगापुर एथ्लेटिक्स प्रतियोगिताको ५ किलोमिटरमा स्वर्ण, १० किलोमिटरमा दोस्रो, सिंगापुर सनडाउन म्याराथनको १० किलोमिरटमा स्वर्ण पदक, २०१६ मा भएको सिंगापुर एल्लो रिबोन इन्टरनेशनल रनको १० किलोमिटरमा स्वर्णपदक जित्न सफल भए।

त्यसपछि गुरूङको चर्चा खेल क्षेत्रमा थप चुलियो। उनी २०७४ मा अमेरिकाको लस एञ्जल्समा आयोजित विश्व प्रहरी च्याम्पियन्सीपमा सहभागी भए।

२०४२ सालदेखि सुरु हुँदै आएको सो प्रतियोगितामा अन्य राष्ट्रका खेलाडीलाई पछिपार्दै, उनले १० किलोमिटर र हाफ म्याराथनमा स्वर्ण पदक हात पारे। सो जित सम्झँदै उनी भन्छन्, ‘विश्वभरबाट धावकहरु पुगेको बेला मेरो गन्ती हुँदैन थियो। तर म भित्रको नेपाली माया र आत्मविश्वास भने जीवितै थियो। जसले मलाई स्वर्ण पदक दिलायो।’

उनले त्यहाँ स्वर्णपदक हात पार्दा नेपाली राष्ट्रिय झण्डा नै फरफहराएका थिए। यसपछि गतवर्ष चीनमा आयोजित सोही प्रतियोगिता अन्तर्गत तीनवटा स्पर्धामा उनले स्वर्णपदक हात पारे।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै ३ सय ५० भन्दा बढी पदक हात पारिसकेका निमेश सिंगापुर न्यू ब्लेन्स, सिंगापुर सिटी दौड, सालोमन एक्स क्रस कन्ट्री, पर्फमेन्स सिरिज, पुमा नाइट रन जस्ता प्रतियोगिताकाे उपाधि जित्न सफल भएका छन्।

आफ्नो जितका सन्दर्भमा भावुक हुँदै भन्छन्, ‘दौडने मात्र हो भन्ने लाग्थ्यो। तर होइन रहेछ। धेरै बुझ्नु पर्दो रहेछ। इन्टरनेटबाट धेरै कुरा सिक्दै आएको छु। ट्र्याकमा दौडँदा बिरामी बुबा र आमाको दुःख सम्झिन्छु।’

साउदीबाट बिरामी भएर नेपाल फर्किएका उनका बुबा अझैपनि बिरामी नै छन्। उनको उपचार चलिरहेको छ।

संखुवासभाको मादी मुलखर्कस्थित पुरानो घरमा गुरूङ।

नेपालमा राष्ट्रिय प्रतियोगिता खेल्ने उनको इच्छा छ सोही अनुसार उनी आफूलाई तयार पार्दैछन्।

उनको विषयमा एथलेटिक्स संघका उपाध्यक्ष सुशिलनरसिंह राणले भने, ‘प्रतिभा भएका खेलाडीलाई राष्ट्रियस्तरमा खेल्नका लागि ढोका खुल्ला छ। तर, प्रक्रिया पूरा गर्दै आउनुपर्छ। आठौँ राष्ट्रिय खेलुकदको अन्तिम छनोट असोज अन्तिम साता थियो। उनी सहभागी हुन सक्थे।’

तर विडम्बना डेंगीका कारण उनी सहभागि हुन सकेनन्। दसैँ मनाउने क्रममा वसन्तपुर आएका उनी भन्छन्, ‘दसैँ पारेर तीन महिनाको विदामा आएको थिएँ। यसपटक राष्ट्रियस्तरमा स्पर्धा गर्नेगरी। तर शारिरीक अस्वस्थताका कारण अघि बढ्न सकिँन।’

भविष्यमा नेपाली खेलकुदमा योगदान दिने बताउने निमेशले भने, ‘नेपाली माटोसँग कुनै न कुनै कामबाट जोडिरहनेछु। चाहे त्यो समाजिक काम होस् या खेलकुद।’

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्