निता केशरी भट्टराई । तस्बिरहरुः बर्षा शाह/देश सञ्चार
जब उनले पानीको टिप्लिक–टिप्लिक सुनिन्

अनि आवाजको जन्म भयो

१६ वर्ष पहिले नै हो उनले जन्म लिएको, आमाको कोखबाट बाहिर निस्किएकी उनी रोएकी थिइन् अरु जस्तै। त्यो रुवाई उनी आफैले भने सुन्न सकिनन् शायद। जन्मेको १६ हिउँद काटेपछि बल्ल उनको आवाजको जन्म भयो, अर्थात सुन्न सकिन् हावाको सुस्केरा, पानीको बहाव।

उनले आफैलाई नजिकबाट सुन्न सकिन्, तब मात्रै जिन्दगी आफ्नो लाग्यो, प्यारो बन्यो। पहिलोपटक चराको चिरबिर सुनिन्। पहिलो पटक नै पानीको तप तप आवाजको महशुस गरिन्। त्यही बेला आमाको आवाजलाई प्रष्टसँग बुझिन्।

विज्ञापन

त्यही दिन थियो, निता केशरी भट्टराईले अन्य व्यक्ति जसरी आवाजलाई सुनिन्। आवाज सुनेर शब्दमा उतारिन्। आफ्नै आवाज सुनिन्, म बोल्दा यस्तो हुने रहेछ थाहा पाइन्।

क्यानडाका एक डाक्टरले उनलाई दोस्रो जन्म दिएका थिए। त्यसपछिका दिनहरुमा अन्य व्यक्ति जस्तै सामान्य जीवन बिताउन सक्ने आभास भएको थियो उनलाई। उनको खुशीको सीमा रहेन। उनी सुन्न सक्ने भएकी थिइन्।

एसएलसीपछि निताकी आमाले उनलाई उपचारका लागि क्यानडा लागिन्। डाक्टरले जाँच गरे। उनलाई श्रवण यन्त्र (हियरिङ् यड) दिए। उनले अब सबै आवाज सुन्न सक्ने भइन्।

उनको बोली प्रष्ट थिएन। डाक्टरले स्पिच थेरापी गराए। केही हदसम्म उनीमाथि सुधार भयो। बिस्तारै उनले शब्दहरु सिक्न थालिन्। जुन यो भन्दा आगाडि थाहा थिएन। बल्ल उनले ‘लाइफमा इन्जोय’ गर्न सिकिन्। जिन्दगीको महत्व बुझ्न थालिन्।

क्यानडा जानु अगाडि


क्यानडा पुग्नु भन्दा पहिला बोलेको कुरा प्रष्ट सुन्न सक्दिनथिन् निता। कोही बोलेको बुझ्न उनलाई मुश्किल हुन्थ्यो। उनी सुन्ने र बोल्ने कुरामा त्यति धेरै चासो हुँदैनथ्यो। उनको बोली स्पष्ट थिएन। उनलाई लाग्थ्यो ‘म अरु भन्दा फरक छु’ तर उनको परिवारले उनलाई सधैँ तिमी अरु समान छौ भन्ने आश्वासन दिइरह्यो। सामान्य बालबालिकाले पढ्ने स्कूलमा उनको भर्ना गरियो।

निताको कानमा समस्या छ भन्ने कुरा परिवारले उनी चार वर्षकी हुँदा थाहा पाएको थियो। निता चार वर्षकी हुँदा उनलाई हाँडे भएको थियो। त्यसपछि दिदीहरुले आमालाई बहिनीले कान नसुन्ने कुरा बताए। छोरीको कानमा समस्या भएको थाहा पाएपछि बुवाले जाँचका लागि नितालाई बनारस लगे। डाक्टरले निताको ‘परमानेन्ट हेरिङ्ग ड्यामेज’ भएको बताएका थिए।

शायद डाक्टरले त्यो बेला निताको कानमा मेसिन लगाइदिनु पर्छ भन्ने जानकारी दिएनन्। त्यसैले त बुवाले यति ठूलो कुरालाई वास्ता गरेनन्। त्यहि बेवास्ता गरेको सानो कुराले बिकराल रुप लेला भन्ने निताका बा–आमाले कुनै हेक्का पनि राखेनन्।

दुई दिदी पछाडिकी कान्छी छोरी थिइन् निता। घरमा सबैकी प्यारी। निताले घरमा दुई दिदी र आफूमा परिवारले गर्ने कुराहरुमा कुनै प्रकारको भेदभाव पाइनन्।

तर उनी जति ठूली हुँदै गइन्, कुराहरु बुझ्दै गइन्।

आफन्त, समाजले नितालाई श्रुति बिहीनको संज्ञा दिने गरेता पनि निताकी आमाले सधैँ ‘मेरी छोरी ठीक छे, मेरी छोरी पढ्छे, सुन्छे’ भन्दै हौसला दिइरहिन्। निताकी आमाले छोरीलाई आपाङ्ग भन्न कहिल्यै पनि रुचाइनन्। त्यसैले त सधैँ अरुको कुरालाई सोझै नकारिदिन्थिन्।

धेरै आफन्तले नितालाई श्रुति बिहीनले पढ्ने स्कूलमा पठाउन उनकी आमालाई सल्लाह दिने गर्थे। उनीहरु सधैँ भन्ने गर्थे,‘आखिर कान सुन्दिन, यसलाई अरुले पढ्ने स्कूलमा पठाएर के काम भो र?’

तर निताको परिवारले होइन नितालाई सामान्य बच्चाहरुले पढ्ने स्कुलमै पढानुपर्छ भन्ने सोच राख्यो। र पढायो पनि।

निताकी आमा उनको प्रेरणाको स्रोत भइन्।

स्कूलमा फरक व्यवहार


घर भित्र भिन्नता नपाए पनि स्कूलमा भने उनलाई आफू फरक क्षमताकी छु भन्ने महशुस भइसकेको थियो। यो कुरा थाहा पाउन उनलाई ८ वर्ष लाग्यो। उनलाई स्कूल जानुपर्छ, पढ्नुपर्छ भन्ने थाहा थियो।

तर कक्षामा सरहरुले पढाएको कुरा उनले थाहा पाइनन्। न त गृहकार्य के दिइयो भन्ने कुरा नै थाहा पाउँथिन्। उनलाई आफ्नो कक्षामा बस्न अल्छि लाग्थ्यो। कक्षामा सरले पढाइरहँदा पूरै कक्षा शान्त हुन्थ्यो, त्यही मौका छोपेर सरले ब्ल्याक बोर्डमा लेखिरहेको मौका छोपेर उनी कक्षा कोठाको झ्यालबाट भागेर दिदीको कक्षामा पुग्थिन्।

एकछिन दिदीसँग बसेर उनी खुसी हुन्थिन्, तर त्यो खुसी क्षणिक मात्र हुन्थ्यो। उनलाई फेरि फर्केर त आफ्नै कक्षा कोठामा आउनुपर्थ्याे। उनी आफ्नो कक्षामा आउँथिन्। फेरि शिक्षकको पिटाई भेटिहाल्थिन्।

तर पनि उनलाई स्कूलका शिक्षकहरुले माया भने गर्थे। उसो त उनको स्कूलका सबै शिक्षकहरुलाई उनले कान सुन्दिनन् भन्ने कुरा थाहा थियो।

उनको यस्तो अवस्था देखेर निताका बुवाले एक जना क्यानडियनसँग निताका लागि कानमा लगाउने यन्त्र किनिदिए। त्यति बेला उनी कक्षा ४ मा पढ्दै थिइन्। कान सुन्ने मेसिन लगाएर निता स्कूल पुगिन्।

कानमा मेसिन लगाएर स्कूल पुग्दा नितालाई लागेको थियो, अब सब ठीक हुन्छ। उनले नसुनेका आवा सुनिन्, झन रमाइलो लाग्यो। तर उनको त्यो रमाइलो धेरै बेर टिक्न सकेन। उनले सोचेको जस्तो भएन, विपरित भइदियो। आँखामा मोटो पावरवाला चस्मा अनि कानमा मेसिन लगाएर स्कूल पुगेकी उनलाई गिज्याउनेको संख्या कम भएन।

उनलाई कसैले बुढी, कसैले बज्यै, कसैले लाटी भनेर गिज्याउन पछि परेनन्। नितालाई साथीहरुले गिज्याइरहँदा आफैप्रति हिनताबोध भयो। उनलाई कानमा मेसिन लगाएर हिँड्न मन लागेन। मेसिन लगाएको तीन चार दिनमै फ्याँकिदिइन्।

नितामा फेरि पनि उही समस्या दोहोरियो। बोलेको प्रष्टसँग सुन्न सकिनन्। बुझ्न सकिनन्। पढ्न सकिनन्। अब भने निता शिक्षकको पिटाईबाट बच्नका लागि अनेक उपाय अप्नाउन थालिन्। सबै भन्दा अगाडि स्कूल पुगेर साथीको गृहकार्य सार्न थालिन्। तर पनि उनी सरको पिटाइबाट बच्न सकिनन्। अरुको गृहकार्य सारेको भन्दै झनै पिटाइ खान थालिन्।

निताले हिम्मत हारिनन्। अन्य बालबालिका जस्तो नक्कल गर्न खोजिन्। तर उनी नक्कल उर्तान सफल भइनन्। जे गर्न खोज्यो त्यसको ठीक उल्टो भइरहयो उनको जीवनमा।

उनलाई लाग्थ्यो म यस्तै हरेछु। मेरो दिमाग बोधो रहेछ भन्ने लाग्थ्यो। आफ्नो अवस्था देखेर कहिलेकाहीँ नितालाई आत्महत्या गर्ने सोच नआएको पनि होइन, तर निताका दिदीले सधै उनलाई ढाडस दिए। उनका लागि सधैँ जिउने उर्जा बने।

त्यसैले निता जसो तसो पढाइलाई निरन्तरता दिँदै गइन्। निता ९ कक्षा पढ्दासम्म कहिल्यै पनि पास भइनन्। तर वार्षिक परिक्षामा आफ्नो दया लागेर शिक्षकहरुले आफूलाई पास गरिदिने गरेको उनी बताउँछिन्। उनी भन्छिन, ‘स्कूलको त्रैमासिक परीक्षामा कहिल्यै पास भइँन, तर वार्षिकमा पास भएर अर्को कक्षा जान्थेँ। शायद मेरो अवस्था देखेर सरहरुले पास गरिदिनु हुन्थ्यो होला।’

१० कक्षा अर्थात एसएलसीमा उनलाई न त माया गरेर पास गरिदिन मिल्थ्यो, न त दया गरेर नै। यो समयमा पास हुनका लागि आफूले धेरै गर्नु पर्ने उनलाई महशुस भयो। उनले धेरै मेहनत गरिन्। पढ्नका लागि अनेक उपाय अपनाउन थालिन्। साथीको झोलाबाट नोट चोरिन्।

उदाहरणहरु हेर्दै प्रयाक्टिस गर्न थालिन्। जसको फल स्वरुप उनी एसएलसी उतिर्ण भइन्। उनी पास भएको देखेर उनलाई पठाउने शिक्षकका समेत आँखा रसाए।

निताका दिदीहरुले एसएलसीपछि विज्ञान विषय लिएर पढेका थिए। उनका दुईजना दिदीले डाक्टरी पढे। डाक्टर बने। दिदीहरुलाई देखेर नितालाई घरीघरी लाग्ने गर्थ्याे, ‘म पनि डाक्टर बन्न पाए।’ उनको विज्ञान पढ्ने ठूलो सपना थियो। तर उनले आफ्नो विज्ञान पढ्ने सपना पूरा गर्न सकिनन्।

उनी भन्छिन्, ‘दिदीहरु डाक्टर हुनुहुन्छ, मलाई कहिलेकाँही जेयलस हुन्छ।’

उनले एसएलसीपछि विज्ञानको साटो व्यवस्थापनलाई रोजिन्। क्यानडा पुगेर कानमा लगाएको मेसिनले गर्दा अब उनी केही हदसम्म कक्षामा सरले पढाएको कुरा राम्रोसँग सुन्न सक्ने उनी भइसकेकी थिइन्। ११–१२ पढ्न उनलाई स्कूलको जस्तो साथीहरुको नोट चोर्न पर्ने अवस्था रहेन। उनले आफै सुनेर, बुझेर पढिन्। र राम्रोसँग पास गरिन्।

उनलाई धेरै पढ्न मन थियो। त्यसैले उनी ब्याच्लर पढ्नका लागि शंकरदेव क्याम्पसमा पुगिन्। ठूलो सपना बोकेर क्याम्पस गएकी उनी निरास भइन्। आफूले सोचे जसरी पढ्न सक्ने वातावरण क्याम्पसमा थिएन। विद्यार्थी धेरै भएकाले गर्दा कक्षामा धेरै हल्ला हुन थाल्यो।

हाल्लाले गर्दा उनको मेसिनले राम्रोसँग काम गर्न सकेन। उनलाई इरिटेटिङ्ग आवाजहरुले टाउको दुख्ने समस्या हुन थाल्यो। निता कक्षामा बस्नु भन्दा साथीहरु बटुलेर घरमै बस्न थालिन् र स्वअध्ययन सुरु भयो।

जीवनमा आएको परिर्वतन


तर ब्याच्लर सकिएपछि भने उनको जीवनमा केही परिर्वतन आयो। आमाले सम्हालेकी नितालाई अब एक परिवार सम्हाल्नु पर्ने भएको थियो। उनको बिहे भयो। उनले जीवन साथीको रुपमा जीवनलाई नै पाइन्, अर्थात जीवन भट्टराई। बिहे भएको केही समय निता घरमै बसिन्।

त्यसको केही समय पश्चात जीवन पिएचडीका लागि जापान जाने भए। निता पनि जीवनसँगै जापान गइन्। उनी १० वर्ष जापानमा बसिन्। त्यो १० वर्षले उनको जीवनमा धेरै परिर्वतन ल्यायो। त्यही समयमा उनले आफू को हूँ भन्ने कुरा थाहा पाइन्।

नितालाई आफ्नौ छुट्टै परिचय बनाउनु पर्छ भन्ने लाग्थ्यो। उनी सधैँ नितालाई नयाँ नयाँ रिसर्चका किताबहरु पढ्न दिने गर्थे। जसले नितालाई श्रवण शक्तिमा कमी र सुस्त श्रवणका विषयमा नयाँ नयाँ कुराहरु बुझ्दै गइन्। श्रवण शक्तिमा कमी र सुस्त श्रवणका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुमा जोडिन पुगिन्। यस्तै संस्थाहरुमा भोलेन्टेरिङ् गर्न थालिन्।

त्यसपछि मात्र आफू अपाङ्ग रहेछु भनेर थाहा भएको उनले बताइन्। उनी भन्छिन्, ‘जापान जानुभन्दा अगाडि मलाई म अपाङ्ग हुँ भन्ने कुरा थाहा थिएन, मेरी मुवालाई मलाई अपाङ्ग भनेको मन पर्दैनथ्यो।’ त्यसैले त नितालाई कसैले केही भन्ने हिम्मसमेत गरेनन्।

बिहे पछाडि जिन्दगी नै परिर्वतन भएको महशुस गर्छिन्, उनी।

निता भन्छिन्, ‘श्रीमान् मेरो ब्याकबोन हुनुहुन्छ। मलाई हरेक कुरामा सर्पोट गर्नुहुन्छ, केही कुरा गर्नका लागि इन्करेज गर्नुहुन्छ। आई एम सो लक्की कि मैले उहाँ जस्तो बुझकारी श्रीमान् पाएँ।’

निता र जीवनका २० वर्षकी छोरी र १७ वर्षका छोरा छन्।

जापानको १० वर्ष बसाईपछिको नेपाल


नेपाल फर्किके बित्तिकै उनलाई जापानमा धेरै सोधिएको प्रश्न साईन ल्याङ्गोइज थियो। उनले सांकेतिक भाषा सिकिन्। यो भाषा सिकेपछि मात्र उनले कानै नसुन्ने र कान कम सुन्नेहरु बीचको भाषिक समस्या थाहा पाइन्। उनीहरु भाषमा मात्र नभएर शिक्षामा पछाडि परेका छन्। उनीहरुका लागि कुनै पढ्ने सामग्री छैन।

उनीहरुमा ‘कम्यूनिकेसन ग्याप’ भएको निताले बताइन्। यस्तै व्यक्तिहरुका लागि काम गरिरहेको रोतो पुलमा रहेको एक संस्थामा काम पनि गरिन्।

त्यसै समयमा उनले श्रुति बिहीन र श्रुति शक्तिमा कमी भएका व्यक्तिबीचको फरक थाहा पाउने मौका पाइन्। त्यही समयमै उनले श्रुति शक्तिमा कमी भएका व्यक्तिहरुले श्रवण यन्त्रको प्रयाेग गर्न नजानेका समस्यालाई नजिकबाट नियाल्ने मौका पाइन्।

यसै कुराले उनलाई केही गर्ने हौसला प्रदाग गर्‍याे। उनी लगायत सात जना मिलेर सन् २०१२ मा श्रुति नामक संस्था खोले। संस्थाले श्रवण शक्तिमा कमी र सुस्त श्रवण भएका बालबालिकाहरुका लागि काम गर्दै आएको छ। यस्ता बालबालिकाका लागि निता लागि परेकी छन्। उनी उक्त संस्थाकी अध्यक्ष हुन्।

उनले कुनै दिन आफू अरुका लागि काम गरुँला भन्ने सोचेकी थिइनन्। तर उनका श्रीमान सधैँ उनको प्रेरक बनिरहे। सहयात्री बने। निताको उर्जा बने।

उनका श्रीमानले निता भित्रको प्रतिभालाई बाहिर निकाल्न मद्दत गरे। अहिले पनि उनी आफ्नो कामबाट फुर्सद हुने बित्तिकै निताको अफिसका पुग्ने गर्छन्। जीवन छेउमा भए नितालाई हरेक काम गर्ने आँट आउँछ, साहस बढ्दै जान्छ।

श्रीमानकै हौसलाका कारण नितालाई आफ्नो छुट्टै परिचय बनाउन मन लाग्यो। उनलाई जीवन भट्टराईको श्रीमती भनेर भन्दा पनि निता केशरी भट्टराई भनेर चिनिने रहर जागेर आयो। जुन पूरा गर्न उनी सफल भएकी छन्।

बिहेपछि छोडेको पढाईलाई निरन्तरता दिइन्। समाजशास्त्रमा स्नातकात्तर सकेर थेसिस गरिरहेकी छन्।

बाल्यकालमा उनको जस्तो समस्याबाट कुनै पनि बालबालिका गुज्रनु नपरोस् भन्ने उनलाई लाग्छ। र उनी लागि परेकी छन्।

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार