एसियन राजमार्गमा विर्तामोडको फोहोर

झापा   झापाको विर्तामोड नगरपालिका कार्यालयले नगरको फोहोर महिनौँदेखि पूर्व पश्चिम एसियन राजमार्गमा फाल्ने गरेको छ।

विर्तामोड बसपार्क नजिक नगरको फोहोर सडकको दायाँ बायाँ किनारमा फालेर माटोले पुर्ने गरिएको छ।

विज्ञापन

तर दुर्गन्ध फैलिने गरेका कारण सर्वसाधारणले महिनौँ दिनदेखि नगरपालिका कार्यालयमा त्यहाँ फोहोर नफाल्न आग्रह गर्दै आएका छन्। सर्वसाधारणको आग्रहलाई बेवास्ता गर्दै नगरपालिकाले फोहोर सडकमा फाल्न छाडेको छैन।

सर्वसाधारण नागरिकको आवत जावत हुने स्थान राजमार्ग मुख्य स्थानमा पर्छ। त्यसमाथि पनि उक्त राजमार्ग एसियन राजमार्ग हो। जहाँ फोहोर फाल्नै नमिल्ने सडक डिभिजन कार्यालय दमकले जनाएको छ।

सडक डिभिजन कार्यालय दमकले धेरै दिनदेखि सडक इलाकामा फोहोर नफालिदिन विर्तामोड नगरपालिका कार्यालयलाई आग्रह गर्दै आएको कार्यालयका प्रमुख श्यामकुमार यादवले बताए।

उनले भने, ‘हामीले धेरै पटक आग्रह गर्यौं सडकमा फोहोर नफाल्न भनेर। सुनुवाइ नभएपछि तीन दिन अघि पत्र लेखेर अवगत गराएको छु। सडकमा फोहोर फाल्न कुनै पनि हालतमा मिल्दैन।’

विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले फोहोरको समस्या निकै ठूलो समस्या भएकाले बाध्य भएर सडक किनारमा फोहोर व्यवस्थापन गरिएको बताए।

उनले केही दिनमै नगरको फोहोरको व्यवस्थापन अन्यत्र गरिने बताए।

उनले भने, ‘केही दिनमै हामी दुर्गापुर माथिको जंगलमा फोहोरको व्यवस्थापन गर्छौं। उपाय नलागेपछि सडक किनारमा फोहोर व्यवस्थापन गरेर माटोले पुरिएको हो।’

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्