कवि शशिकिरणको कविता संग्रह ‘बधाई छ’ सार्वजनिक

मोरङ– कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ’ कविता संग्रह शनिबार विमोचन गरिएको छ।

विराटनगरस्थित आरोहण गुरुकुलकाे सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कविता संग्रहको विमोचन गरेका हुन्।

विज्ञापन

विमोचित कविता संग्रहको विषयमा टिप्पणी गर्दै कवि साहित्यकार सीमा आभाषले विमोचित कविता संग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङ्धङीका विषयवस्तुहरु कविताको माध्यमबाट समेटिएको बताइन्।

कार्यक्रममा कवि तथा पत्रकार मिनकुमार नवोदितले विमोचित कविता संग्रहको शिर्षक कविता वाचन गरेका थिए। कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरु समेटिएका छन्।

पहिलो चरणमा एक हजार प्रति छापिएको संग्रहको मुल्य तीन सय निर्धारण गरिएको छ। तत्कालिन माओवादी पृष्ठभुमिबाट जनयुद्ध र राजनीतिक क्षेत्रमा लामो समयदेखि संलग्न रहेका गणेश उप्रेती ‘सुशिल’को लेखकिय नाम शशिकिरण हो।

यसअघि उनको पहिलो कृतिको रुपमा कथा संग्रह प्रकाशन भएकाे थियाे।

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्