सिमकोट – हुम्लाको दुर्पा गाउँमा बेरोजगार तथा विपन्न समुदायका किसानहरु मिलेर सामूहिक बाख्रा पालनसुरु गरेका छन् । सामूहिक पाख्रा पालनका लागि अनुदान प्राप्त भएपछि खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को दुर्पा गाउँका बासिन्दाले मिलेर काम सुरु गरेका हुन् ।

स्थानीयको माग अनुसार बाख्रा पालन व्यवसाय सुरु गरिएको र यसलाई थप व्यवस्थित गर्दै लगिने स्थानीय किरसिंह ऐडीले बताए । उक्त समूहले पहिलोपटक गाउँमा बाख्रा पालन व्यवसाय सामूहिक रुपमा गर्न लागेकोले अवसर र चुनौतिका साथ अगाडि बढ्ने बताइएको छ । समुदाय आफैले बाख्रा तथा बोका खरिद गरेका छन् । यस्तै सुधारिएको दुई कोठे गोठ पनि निर्माण गरिएको छ ।

५२ घरधुरी भएको दर्पा गाउँबाट छनौट भएका अति गरिब, बेरोजगार र विपन्न १५ घरधुरीलाई छनौट गरेर एक सयवटा बाख्रा तथा पाँचवडा उन्नत बोका अनुदानमा प्रदान गरिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताए ।

गोठका लागि आवश्यक जस्तापाता पनि वडा कार्यालयबाट यसै आर्थिक प्रदान गरिने उनले बताएका छन् । हाल सो गोठमा माटोको छानो छ ।

कात्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्