‘गाउँमा नयाँ मान्छे आउँदा प्रहरी हुन् कि विप्लवका कार्यकर्ता हुन् भनेर डर लाग्छ’

दाङ– गाउँमा नयाँ मान्छे देखिँदा राजपुर गाउँपालिका वडा नम्बर ४ मगराइना गाउँका भीमबहादुर नेपाली डराउँछन्।

यही गाउँबाट प्रहरीले तीन दिनअघि २१ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई एक साथ पक्राउ गरेको थियो। ‘नयाँ मान्छे आउँदा प्रहरी हुन् कि विप्लवका कार्यकर्ता हुन् भनेर डर लाग्छ’, नेपालीले भने ।

पूर्वमा करङ्गा खोला र पश्चिममा महतिनिया खोलाको बीचमा मुङग्रेठा खोला पर्छ। यही खोलाको तिरतिरै मगराइना गाउँ पुगिन्छ। यो गाउँमा जम्मा ७ घरधुरी छन्।

विप्लवका दाइ चन्द्रबहादुर चन्दसहितका नेता तथा कार्यकर्ता पक्राउ परेपछि यो गाउँको चर्चामा छ। द्वन्द्वकालमा समेत सुरक्षा निकाय पुग्न नसकेको ठाउँमा प्रहरी पुगेर मध्यरातमा छापा हानेर विप्लव समूहका २१ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो।

विप्लवका नेता कार्यकर्ता पक्राउ परेपछि मगराइना गाउँका नागरिक त्रसित बनेका छन्। प्रहरीले छापा हानेपछि गाउँ सुनसान छ। घरका ढोका बन्द छन्।

राप्ती व्यूरो बैठकमा सहभागी हुन आएका विप्लवका नेता कार्यकर्ताले खसी काटेर मासुभात खाएका थिए। स्थानीय ज्ञानेन्द्र विक्रम रानाको घरमा मेस संचालन गरेका थिए।

असोज २९ गते राति नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्त तहका नेताहरुले रानाको घरमा मेस संचालन गरि खाना खाएर बास बसेको रानाकी श्रीमती शोभा रानाले बताइन्।

विप्लवका नेता तथा कार्यकर्ता गाउँमा पहिलेदेखि नै आउने जाने गरेको पाइएको छ।

 

कात्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्