फोटो फिचर

चमेराको ‘राजधानी’ पुग्दा…

झापा – पूर्व पश्चिम एसियन राजमार्गको केर्खा चोक उत्तरपट्टिका प्रत्येक रुखका हाँगैपिच्छे काला फल जस्ता बस्तु झुण्डिएका देखिन्छन्।

फल जस्ता देखिने ती बस्तु अरु केही नभइ स्तनधारी पक्षी चमेरा हुन्। तर जो कोहीले हठात् चमेरा हुन् भन्ने अड्कल काट्न निकै गाह्रो हुन्छ।

विज्ञापन

जब चमेरालाई कुनै बाहिरी आक्रमण हुन्छ अनि जोडतोडले आवाज निकाल्दै उड्न थाल्छन्।

त्यो देख्दा यस्तो लाग्छ सुविधा खोज्न मानिसहरु राजमार्ग आसपास आएजस्तै उनीहरु पनि सुरक्षित बासस्थान खोज्दै त्यहाँ आएका हुन्।

चमेराको आवाजले रतुवा माइ बृक्षारोपण आयोजनाको कार्यालय हातानै रोमाञ्चक बनाइदिएको छ।

झापाको कमल गाउँपालिकास्थित केर्खा बजारदेखि राजमार्ग उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको कार्यालय परिसर भित्र रहेका मसला जातको रुखलाई चमेराले आफ्नो सुरक्षित बासस्थान बनाएका हुन्।

अधिक विषादीको प्रयोग, असुरक्षित बासस्थान र शिकारीका कारण एकमात्र स्तनधारी चरा बर्गमा पर्ने चमेराको अस्तित्व जोखिममा पर्दै गएको प्राणीशास्त्रीहरु बताउँछन्।

विगत १५ वर्षभन्दा बढी समयदेखि चमेरा उक्त क्षेत्रमा बस्दै आएका छन्।

अहिले अधिकांश काठका घर भत्काएर मानिसहरुले पक्की घर बनाउन थालेपछि चमेराको बासस्थान संकटमा पर्दै गएको प्राणीशास्त्री बताउँछन्।

यसले आफूले कुनै गुँड नबनाउने तर मानिसले बनाएको बाँस अथवा काठको अग्लो घर नै सबैभन्दा सुरक्षित बासस्थान मान्ने गर्दछ।

त्यस बाहेक प्राकृतिक गुफा, अग्ला रुखलाई बासस्थान बनाउने गरेको छ।

रतुवामाइ वृक्षरोपण आयोजनाका प्रमुख खेम बिश्वकर्माका अनुसार चमेराले सुरक्षित बासस्थानको रुपमा कार्यालय परिसरमा रोपिएका अग्ला रुखलाई लिएका छन्।

वनका सुरक्षाकर्मीबाट २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिइन्छ। त्यसकारण यहाँ शिकारीबाट पहिलो सुरक्षा मिलेको छ।

मसलाको अग्ला अग्ला रुखमा बस्ने भएकाले सजिलै कुनै पनि जंगली जनावरले शिकार गर्न नसक्ने उनको भनाई छ।

चमेरा विषेशज्ञ दिव्यराज दहालका अनुसार विश्वमा करिव १२ सय प्रजातिका चमेरा पाइन्छ।

जसमध्ये दक्षिण एसियामा १ सय २८ प्रजातिका पाइन्छ भने नेपालमा ५३ प्रजातिका चमेरा पाइने गरिएको छ ।

चमेरा मांसाहारी र फलाहारी दुवै प्रकारका हुन्छन् । फलाहारीले फलफूल अन्न पातलाई मुख्य आहारा बनाउने गर्दछ भने मांशहारीले किरा, फट्याङ्ग्रा, खाने गर्दछ।

केर्खामा पाइने चमेरा फलाहारी रहेको दाहालले जानकारी दिए। यहाँ पाइने चमेरा नेपाल कै सबैभन्दा ठूलो जातिको भएको बताइन्छ।

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू