टर्की र कुर्दिसले एकअर्कामाथि लगाए युद्धविराम भंग गरेको आरोप

टर्की र सिरियाका कुर्दिस लडाकुले उत्तरी सिरियामा लागु भएको अल्पकालीन युद्धविराम तोडिनुमा एकअर्कालाई आरोप लगाएका छन् ।
कुर्दिस बाहुल्य सिरियाको उत्तरी क्षेत्रमा टर्कीले अक्टोबर ९ देखि सैन्य आक्रमण गरेको थियो । तर अमेरिकाको आग्रहमा उसले त्यहाँ तीन दिनअघि अल्पकालीन युद्धविराम गरेको भए पनि पूर्णरुपमा त्यसको पालना भएको छैन ।
युद्धविराम भंग हुनुमा टर्की र कुर्दिस फोर्सले एकअर्कामाथि आरोप लगाएका छन् । टर्कीले गएको बिहीबार पाँच दिनका लागि भनेर अस्थायी युद्धविराम गरेको थियो । उसले कुर्दिस लडाकुलाई सीमा क्षेत्रबाट सुरक्षित रुपमा जान दिनका लागि युद्ध विराम गरेको बताएको हो । तर युद्धविरामका बाबजुद हिंसा भने जारी छ ।
टर्कीले यहि अक्टोबर ९ (असोज २२ गते) देखि सिरियाली क्षेत्रमा सैन्य आक्रमण गरेको थियो । टर्की तथा उसको गठबन्धन सेनाले कुर्दिसमाथि गरेको आक्रमणमा युद्ध अपराध भएको हुन सक्ने भन्दै विश्वव्यापी रुपमा चासो तथा चिन्ता व्यक्त भएको छ ।
सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसहरुको सैन्य समूह सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा अमेरिकी सैनिकलाई साथ दिँदै आएको थियो । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।
टर्की कुर्दिसलाई आतंकवादी मान्छ । सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो । टर्कीमा पनि कुर्दिसको बसोबास छ । टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे । अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो । ट्रम्पले कुर्दिस नियन्त्रित क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचना भइरहेको छ।
ट्रम्पकै निर्णयका कारण कुर्दिस बाहुल्य क्षेत्रमा मानवीय संकटको अवस्था आउन लागेको बताइन्छ । यस्तै सो क्षेत्रमा कुर्दिसको नियन्त्रमा रहेका आइएसका लडाकु भाग्न सफल भएको पनि जनाइएको छ ।