आगन्तुक चराको गन्तव्य

उत्तरी भेगबाट आएकाहरुले हिउँद बिताउने बढैया ताल

आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल ।

हिउँद बिताउन आउने चराको संख्या केही कम भएको छ, तर आगन्तुक चराहरुले बिर्सीएका छैनन् परम्परा । सिमसारमा आश्रित हाँस प्रजातिका चराहरुको गन्तब्य नेपालका तराईका जिल्ला हुन्छ, भने अन्य चरा नेपाल भरि मनलागेको ठाउँ जान्छन् ।

अहिले हिउँदे आगन्तुक चरा नेपाल आइरहेका छन् । नेपाल आएका चराहरुले अबको ६ महिना हिउँद यहाँ बिताएर पुनः पुरानो स्थानमा पुग्छ । पृथ्वीले सूर्यलाई केही टाढाबाट परिक्रमा गर्छ, त्यसैले पृथ्वी चिसो हुन्छ ।

दक्षिणी ध्रुबको तुलनामा पृथ्वीको उत्तरी ध्रुबमा बढी चिसो हुन्छ । त्यहाँ आहारा पनि पाइँदैन । चिसो बढ्दै गर्दा त्यहाँका चराहरु बाच्नका लागि बसाई सर्ने गर्छन् । उनीहरुको रोजाइमा पर्छन् नेपाल, भारत, बंगलादेशका विभिन्न क्षेत्र ।

साइबेरीयाबाट हजारौँ किलोमिटर दूरी पार गरेर चराहरु यहाँ आउँछन् । त्यही समूहमा मिसिएर केहीमाथि चीनको मानसरोबरबाट अर्को एक समूह आउँछ र मंगोलियाबाट पनि । जसमा अधिकांश हाँस प्रजातिका चरा हुन्छन् ।

नेपालमा रहेका सीमसार क्षेत्रमा उनीहरुको बास हुनेछ । त्यहाँका माछा आहार बन्छन्।

कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । यी ताल आसपास रहेका पानी जम्ने केही भूभागमा पनि उनीहरुको बास रहन्छ ।

हेम राज थारुको घर बढैया ताल छेउमा छ । उनी यो ताल सँगै हुर्किए । सानो छदाँ तालमा मुख धोए, नुहाए र कहिले ढुङ्गा पनि हाने । सबै उनको मनमा अझै ताजा छ । मुसुक्क मुस्कुराउदै उनी भन्छन् ‘त्यो त केटाकेटी हुँदाको कुरा थियो, अब त त्यस्तो कहाँ गर्नु ।’ अहिले कसैले त्यस्तो गरे सम्झाउँछन् उनी ।

उनी हुर्किँदै गए, ताल भने खुम्चिँदै गयो । उनी भन्छन्, ‘पहिला त चरा आकास भरी हुन्थे, आकास नै ढाक्ने गरी तर अहिले चराको संख्या घटेको छ ।’

उनका अनुसार तालको क्षेत्रफल पनि खुम्चिएको छ । करिब १५० बिघा क्षेत्रफलको ताल हाल १०९ बिघामा सीमित भएको छ । त्यसमा पनि केही भाग जग्गा सम्बन्धी मुद्दा बिचाराधिन छ । कतिपटक तालको केही भाग हडप्ने प्रयास भयो तर स्थानीयले सफल हुन दिएका छैनन् ।

बढैया ताल बर्दीयाको बढैयाताल गाउँपालिकामा पर्छ । महेन्द्र राजमार्गमा पर्ने बर्दियाको बाँसगढीबाट सिधा दक्षिण तर्फ छ । यसको पहरा गरेर बसेका छन् हेमराज थारुसँगै अरु दुईजना । हरेक दिन बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुको दिन तालको रेखदेखमै बित्छ ।

हिउँद लागेसँगै तालमा रौनक बढेको छ । चराहरुको संख्या थपिएको छ । ताल वरिपरी पातलो बस्ती छ र खेत अनि माछा पालनका लागि कृतिम पोखरी । ती क्षेत्रमा पनि चराहरु देखिन्छन् ।

आगन्तुक चराहरु बासस्थानसँगै आहारा पाइने क्षेत्र रहेका ठाउँमा पुग्ने गरेको चराविद डा. हेमसागर बरालले बताए । उत्तरी क्षेत्रमा अत्याधिक चिसो हुँदा जाडोसँगै आहाराको पनि अभाव हुन्छ । आहाराको खोजीमा आइपुगेका चराहरु बढैया तालसँगै त्यसवरपरको खेती योग्य जमिनमा पनि देखिन्छन् ।

लामो समयदेखि चरासम्बन्धी अध्ययन गरिरहेका राम शाह अनुसार नेपालमा अहिले ४३ प्रजाति (हाँस प्रजातीका) चराहरु आउँछन् । जसमा कर्‍याङकुरुङ र खोया हाँस बढी छन् ।

पश्चिम तर्फ कर्णाली नदी र पूर्व तर्फको कोसी नदी माथी उनीहरुको बाटो छ । दुश्मनको डर भए र केहि आपद परे जोगिन सजिलो होस् भनेर उनीहरुले सो मार्ग प्रयोग गर्ने गरेको शाहले बताए ।

यसरी आएका मध्ये सिमसार क्षेत्रमा बास हुने चराको रोजाइमा पर्ने बढैया तालको संरक्षण गर्नु पर्ने चराविदहरुको भनाई छ । आगन्तुक चराहरुले सन्देश लिएर आउने गरेकाले उनीहरुको यो परम्परा जोगाइ राख्नका लागि ताल संरक्षण तथा वन एवम् घाँसे मैदान जोगाइ राख्नु पर्ने उनीहरुले बताए ।

कात्तिक ३, २०७६ मा प्रकाशित