छठको तयारीमा जुट्यो जनकपुरधाम

जनकपुरधाम– तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वलाई अत्यन्तै निष्ठा पूर्वक मनाइने गरिन्छ, त्यसैले यस पर्वलाई सबैभन्दा कठोर पर्वको रुपमा पनि लिइन्छ ।

छठ आउन दुई हप्ता बाँकी रहेका बेला यसको तयारी व्यापक भइरहेको छ । खास गरेर जनकपुरधाममा मनाइने छठ नेपलमै सबैभन्दा प्रशिद्ध रहेकोले यहाँ हप्तौँ अघिदेखि तयारी सुरु गरिन्छ ।

विज्ञापन

अहिले जनकपुरधामको घाटहरुलाई सिंगारिने काम भइरहेको छ । यहाँ रहेको विभिन्न पोखरीहरुमा सजावटको काम सुरु भएको छ । जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरी लगायतका पोखरीहरुमा छठ मनाउने गरेकोले यस पोखरीहरुमा अहिले सरसजावटको काम भइरहेको छ ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरु पूर्ण रुपले घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरु बनाइने गरिन्छ ।

यस पछिका सबै सामग्री संकलनमा यही शुद्धता नै यसको मूलमा बसेको हुन्छ । यो पर्व सोखले वा रहरले गर्ने पर्व होइन । यसका पत्येक सामग्री बडो जतनले केटाकेटीको पहुंच बाहिर राखिनुको अर्थ पनि यही हो ।

त्यस्तै यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको भिड लागेको छ । जनकपुरधामको बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ । छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने गरेकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामान किन्नमा व्यस्त छन् ।

अहिले बाँसबाट बनेको सामग्रीको बिक्रीमा बढोत्तरी भएपनि पहिलेको तुलनामा अहिले यसमा कमी आएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का महेश मल्लिकले बताए । ४५ वर्षका उनी आफ्नो पुर्खाले गर्दै आएको व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

उनका अनुसार पहिलेको तुलनामा अहिले बाँसबाट बनेको सामग्रीको बिक्री वितरणमा कमी आएको छ । उनले भने, ‘पहिले पहिले बाँसबाट बनेको छिठी, नाँगलो, कन्सुपति लगायतका सामाग्रीहरु मात्र प्रयोग हुने गथ्र्यो तर अहिले पितलबाट बनेको सामग्रीहरु प्रयोग हुन थालेपछि हाम्रो व्यवसायमा ह्रास आएको छ ।’

यस वर्ष छठ पर्व कार्तिक १६ गते मनाइदै छ ।

लोकप्रियता बढदै


पहिले पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्वको लोकप्रियता झन बढेको छ । अहिले यो पर्व विस्तार हुँदै पहाडी समुदायका व्यक्तिहरु समेत मनाउने गर्दछन् ।

विभिन्न भाकल पुरा गर्न छठ पर्व मनाइने गरिन्छ भने धेरैजनाले अरुलाई देखेर पनि मनाउने गर्दछन् । यो पर्व पहिले पहिले हिन्दुधर्मावलम्बीहरु मात्र मनाउने गरिएतापनि अहिले केहि मुस्लिम समुदायका व्यक्तिहरु पनि मनाउन थालेको छन् । छठीमातामा विश्वास रहेकै कारणले यसको लोकप्रियता दिन प्रतिदिन बढदै गएको छठका ब्रतिहरुको भनाई छ ।

कसरी मनाइन्छ छठ?


छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ ।

आस्थाको यही लोक परम्परा आज सर्वजनीन भएको छ, एकान्त आस्थाको प्रतिक भएको छ । बिहानीको अर्घ्य दीइसके पछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्