नेपालगञ्ज – ‘साहस चाहिन्छ । योजना हुनुपर्छ । सहयोगी हातहरु आवश्यक पर्छन् । यति भएपछि सफल हुन सकिन्छ ।’ २२ वर्षदेखि शक्ति समूह सञ्चालन गरिरहँदा चरिमाया तामाङलाई लागेको रहेछ, ‘म भन्ने सोचबाट बाहिर निस्किर हामी भन्ने मन्त्र जप्नु पर्छ । संगठनमा काम गरिसकेपछि चाहेर या नचाहेर एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ ।’

परिबन्धमा परेर मुम्बईको कोठीमा पुर्‍याइएकी चरिमाया पढेर भन्दा पनि परेर जान्ने बुझ्ने भइन् । मानव बेचबिखन बिकाउ मुद्दा भएकाले विभिन्न नामधारी एनजिओको भीडमा चरिमायालगायत प्रभावितहरुकै संस्था शक्ति समूह चाडै नै चर्चित भयोे । प्रभावितहरुले नै दूरदराज गाउँमा आफ्ना पीडा सुनाउदै चेतना जगाउदा छिट्टै विश्वासी भयो, डोनरले पत्याए ।

सिन्धुपाल्चोकको हैबुङमा घाँसदाउरा गर्ने चरिमायाले वासिङ्टन डिसी पुगेर पुरस्कार थापिन् । सन् २०११ मा अमेरिकी सरकारले चरिमायालाई ‘टीप हिरो’ ले सम्मान ग¥यो । शक्तिशाली राष्ट्र अमेरिकाकी शक्तिशाली महिला हिलारी क्लिन्टनले चरिमायालाई पुरस्कार प्रदान गरिन् ।

चरिमायाको हैबुङदेखि वासिङ्टन डिसीसम्मको यात्रा सहजै तय भएको थिएन । उनको साहस, मिहिनेत र संघर्षले त्यहाँ पुर्‍याएको थियो । कामको सम्मान गर्दै सन् २०१३ मा शक्ति समूहलाई र्‍यामन म्यागसेसे पुरस्कार दिइयो । जुन पुरस्कारलाई एशियाको नोबेल पुरस्कार पनि भन्ने गरिन्छ ।

सन् १९९६ फेबु्रअरी ५ तारिखमा बम्बई (मुम्बई) को कठारीपुर एरियाको ‘कोठी’बाट बाट उद्धार हुँदादेखि ६ महिनासम्म भारतमै सेल्टर लिदा होस् या नेपाल फर्किएपछि खेप्नु परेको लाल्छना र गालीहरु चरिमायाले गरेको कामले तालीमा परिणत भइसकेका छन् ।

कालकोठरीको २२ महिना अर्थात उनकै शब्दमा २२ जुनी काटेर २०५३ साउन ७ गते नेपाली भूमि टेकेकी चरिमायाले त्यसको ६ महिनापछि आफूलाई ‘नर्क’मा पुर्‍याउने चार जनाविरुद्ध सदरमुकाम चौतारा पुगेर जिल्ला अदालतमा मुद्दा दायर गरिन् । भारतबाट उद्धार गरेर फर्काइएका १ सय २८ जनामध्ये आफूलाई कोठीमा पुर्‍याउनेविरुद्ध अदालतमा जाहेरी दिने चरिमाया पहिलो थिइन् ।

अदालतले उनको पक्षमा फैसला गयो । उनीहरुलाई दश वर्ष जेल सजाय तोक्यो । शक्ति समूहमा वार्षिक ६/७ करोडको बजेट खेलाएर मानव बेचबिखनविरुद्धको पवित्र काममा लागेकी चरिमायाको समूहमा ५४ जना भन्दा धेरै प्रत्यक्ष जोडिएका छन् । २०७२ सालमा २१ जिल्लासम्म फैलिएको शक्ति समूहले पाँच जिल्लाबाट प्रत्यक्ष काम गरेपनि देशभरी नै निगरानी गरिरहेको छ ।

भारतबाट उद्धार गरिएपछि घरपरिवार, समाजले स्वीकार नगरेको चोट चरिमायाको मनमा गडेको थियो । नेपाल फर्किएको ६ महिनापछि पुस ७ गते घरमा पुग्दा घरपरिवारदेखि गाउँभरीका मान्छेले लौरो, भाटा लिएर बसेको दृश्य उनको आँखामा अहिले पनि झल्झली आउँछ । २८ महिना पछि घर फर्किदा घरपरिवार र गाउँलेको अवरोधले गर्दा उनले जम्मा दुई घण्टा पनि घरमा बिताउन पाइनन् ।

तत्काल घरबाट फर्किएर नजिकको अर्को गाउँमा बास बसेर काठमाडौँ फर्किइन् । इमान्दारीपूर्वक काम गर्ने हो भने सफलता पाइन्छ भनेझै त्यही गाउँमा उनले बेचबिखनविरुद्ध काम गर्दै जादा केही महिनापछि उनी गाउँमा हाइहाइ भइन् । चरिमाया भन्छिन्, ‘समाजले मेरो कुरा बुझ्यो । म रहरले नभई परिबन्धमा परेर बेचिएकी थिए । मेरो जस्तो हालत त जसको पनि हुनसक्थ्यो ।’

चरिमायाको कामले यतिबेला विगतको पीडा, बेदना, अपहेलना, लाल्छना, गाली सबै बिर्साइदिएको छ । चरिमायाको उडान दिन प्रति दिन माथिमाथि पुग्दैछ । मानव बेचबिखनविरुद्ध हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा उनको सहभागिता अनिवार्यजस्तै भएको छ । जनसेवा मानपदवी चौथालगायतले उनलाई पछ्याइसकेको छ । राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालयको सम्मान, विभिन्न अवसरमा दिइने कदर पत्रहरु उनको कामका निशानी भएका छन् ।

यसरी पुर्‍याइयो कालकोठरी


२०५० साल चैत्र महिना । चरिमाया १६ वर्ष पार गर्दै थिइन् । सधैँ झैँ उनी त्यो दिन पनि शिवपुरी जंगल (शिवपुरी जलाधार आरक्षण) मा घाँस काट्न पुगेकी थिइन् । एक्लै घाँस बोकेर फर्किरहदा सिठी बज्यो । आर्मी आएछ क्या हो भनेर चरिमाया झाडीमा लुकिन् । तर, त्यो सिठी बजाउने आर्मी नभएर अरु नै चार जना थिए ।

उनीहरुले चरिमायामाथि आक्रमण गरे । कुटपिट गरे । प्लाष्टिकको पोकाबाट निकालेर जबरजस्ती मुखमा केही खुवाइदिए । त्यसपछि चरिमाया बेहोस् भइन् ।

होस आउदा त चरियामा गोरखपुरमा थिइन् । ती चार जना सँगै थिए । उनीहरुले चरिमायालाई फकाउन थाले । ‘काश्मिर जाने हो । १५ दिनमा फर्किन्छौं ।’ जबरजस्ती रेलमा बसाए । गर्मीको बेला थियो ।

खल्खल्ती पसिना आइरहेको थियो । रेलमा चढ्दै गर्दा उनीहरुले पिए पदार्थ (थम्सप) खुवाए । त्यो खाएपछि चरिमायालाई दिनरात केही थाहा भएन । बम्बईको अधेरीमा पुगेपछि होस आयो । त्यहाँ खाना खुवाए । एकजना नेपाली महिला आइन् । उसलाई माइजु भन्न लगाइयो ।

चरिमायालाई माइजुसँग जान र १५ दिनपछि हामी फर्किन्छौ अनि घर जाने भनेर उनीहरुले दबाबमूलक आग्रह गरे । चरिमायाले नमान्दा नमान्दै उनीहरुले भनेजस्तै गर्नै पर्‍यो ।

दुई वटा ट्याक्सी रोकियो । एउटामा चरिमाया र माइजु भन्ने महिला बसिन् । अर्कोमा ती मानिसहरु बसे । केहीबेर ट्याक्सी अगाडि पछाडि गर्दै सँगसँगै जस्तै गुडिरहेका थिए । चरिमायालाई लाग्यो, ‘ए ! सँगै रहेछन् ।’ चरिमाया अर्को ट्याक्सी हेर्दै थिइन् । केही क्षणपछि त्यो ट्याक्सी कता गयो, गयो । चरिमायालाई ती महिलाले कमाठीपुरको १३ नम्बर गल्लीमा लगिन् । माइजु भन्ने महिला अघि–अघि हिँडिन् ।

चरिमायालाई दायाँबायाँ नहेरी पछि–पछि आउन भनिन् । केहीबेर हिँडेपछि महिलाले एउटा कोठामा पु¥याइन् । त्यो कोठाभित्र छिर्दा तीन वटा च्यानल गेट पार गर्नु पथ्र्यो । एउटाबाट अघि बढेपछि त्यो गेट बन्द गरिन्थ्यो । दोस्रो हुँदै तेस्रो गेट बन्द गरेर कोठामा लगियो । चरिमायालाई त्यो कोठामा थुनेर राखे । त्यही बेला दुई जना महिला आए । चरिमायालाई दायाँ–बायाँबाट हेरे । कुनै सामान किन्ने बेलामा ग्राहकले ओल्टाइपल्टाई हेरेजस्तो । चरिमायालाई त्यतिबेला के गरेका होलान् भन्ने थाहा भएन । अहिले त्यो क्षण सम्झिँदा चरिमायालाई लाग्छ, ‘मेरो मूल्य निर्धारण गर्न त्यसरी हेरेका रहेछन् ।’

ती महिलाहरुले चरिमायालाई नांगो बनाएर नुहाइदिए । सानोमा आमाले नुहाइदिएकोजसरी । अनि, नयाँ कपडा लगाइदिए । त्यसपछि उनीहरु निस्केर गए । उनीहरु गएको तेस्रो रात चरिमाया कोठीमा पुगिन् । चरिमायालाई उनको दाइसँगको रिसको बदला लिन गाउँकै एकजनाले अरुसँग मिलेर बेचेका रहेछन् । २०४५ सालमा गाउँमा एकजना बुहारी एकाएक हराइछन् । चरिमायाका दाइले महिलालाई बेचेको आरोप ती मानिसलाई लगाएछन् ।

उनीहरुले गाउँसभामै चरिमायाको दाइलाई कुटपिट गरे । आफूलाई मानव बेचबिखनको आरोप लगाएको रिस फेर्न उनीहरुले पछि चरिमायालाई जबरजस्ती बम्बईको कोठीमा पुर्‍याएका रहेछन् । चरिमायालाई यस्तो लागेको छ ।

५५ हजारमा बिक्री


तीन जना महिला मिलेर जबरजस्ती नांगो बनाएर नुहाइ दिई नयाँ कपडा लगाइदिएर गएको रात चरिमायाका लागि संयौ जुनीको रात थियो । छट्पटाएर, निस्सासिएर उनले त्यो रात कटाइन् । भोलिपल्ट बिहान दुई जना महिला आएर ‘आज जानु परेन, बस’ भनेर फर्किए ।

दोस्रो रात चरिमायाले आत्महत्याको प्रयास गरिन् । आफ्नै सलले घाटीमा पासो लगाएर झुण्डिइन् । राम्ररी मिलेन सायद, उनी १५ मिनेटजति छट्पटाइरहिन् । सल चुडियो, भुईमा खसिन् । चरिमायालाई कालले पनि लगेन । तेस्रो रात उनलाई कोठीमा पुर्‍याइयो । पहिलो ग्राहकलाई चरिमायाले हिर्काएर फर्काइन् । कोठी सञ्चालक (घरवाली) आएर धम्क्याइन्, पिटिन् । यो भन्दा पनि अझ नराम्रो ठाउँमा बेच्ने धम्की दिए ।

यस्तैमा छैठौँ दिन चरिमायाको सर्वस्व लुटियो । चार जना ग्राहक मदिरा पिएर एउटा कोठामा बसेका थिए । चरिमायालाई त्यही हुलेर ढोका बन्द गरियो । मदिराले उन्मत्त भएका ग्राहकले चरिमायालाई झम्टिए, चिथोरे । पैसा तिरेर जे कामका लागि आएका थिए, त्यो काम गरे । पहिलो ग्राहकले आक्रमण गर्दा केही थाहा पाएकी चरिमाया त्यसपछि बेहोस् भइन् । धेरै पछि होस् आउँदा रक्ताम्य थिइन् । उनको अगाडि तीन महिला र एक पुरुष थिए । उनीहरु घरवाली, उनका सहयोगी र चिकित्सक थिए । चिकित्सकले सिरिन्ज लगाए, टाँकाहरु लगाए । चरिमायालाई एक हप्तासम्म औषधि खुवाएर राखियो ।

कोठीमा पुगेको ६ महिनासम्म चरिमायाले भाग्ने कोसिस गरिरहिन् । उपाय भने निस्केन । जति कोसिस गरे पनि असफल भइरहिन् । केही उपाय नलागेपछि उनी घरवालीलाई खुशी पार्नतिर लागिन् । घरवालीको विश्वासपात्र भइन् । घरबालीले ५५ हजारमा किनेको र साढे २ वर्षमा त्यो चुक्ता भएपछि घर पठाइदिने आश्वासन दिन थालिन् । साढे दुई वर्षमा घर जान पाइन्छ भनेर उनी दिन गन्न थालिन् । औला भाँच्न थालिन् । कोठीमा रहँदा चरिमायालाई दसैँ, तिहारको खुब याद आउथ्यो ।

गाउँको, घरपरिवार र साथिहरुको यादले उनी चुर्लुम्म डुब्थिन् । याद आएर के गर्नु, कालकोठरीको चारकिल्लामा उनको सारा संसार कैद भएको थियो ।

१९९४ अप्रिलमा बेचिएकी चरिमाया १९९६ फेब्रअरीमा बाहिर निस्किइन् । यो २२ महिना चरिमायाले कालकोठरीमा बिताइन् । उनकै शब्दमा त्यो २२ जुनी थियो ।

२२ महिना कालकोठरीमा बस्दा चरिमायाले के बुझिन् भने घरवाली (कोठी सञ्चालक) पनि कुनै समयमा बेचिएका हुँदा रहेछन् ।

समय बित्दै जादा उनीहरु आफैले कोठी सञ्चालन गर्दा रहेछन् । कोठी चलाएर बसेपछि उनीहरुले कमाएको पैसा घरमा पु¥याउदा रहेछन् । घरमा जाने–आउने गर्दोरहेछन् । प्रहरी, टोले गुण्डालाई हप्ता दिएर पाल्नु पर्दोरहेछ ।

जन्मियो शक्ति समूह


सन् १९९६ फेब्रुअरी ५ तारिखमा बम्बई प्रहरीले कमाठीपुर एरियामा छापा मार्‍यो । महाराष्ट्र सरकारले १८ वर्ष मुनिका किशोरीलाई छापा मारेर कोठीबाट उद्धार गर्न प्रहरीलाई एक घण्टाको समय दिएको थियो । प्रहरीले एक घण्टामा पाँच सय बढीको उद्धार गर्‍यो । उद्धार हुनेमा नेपाल, भारत र बंगलादेशका किशोरी थिए । त्यसमा नेपाली किशोरी २ सय ६८ जना थिए ।

उद्धार पछि सबैलाई नजिकको नाकपडा चौकीमा लगियो । दिउँसो एक बजेतिर प्रहरीले उद्धार गरेको थियो । पहिला–पहिला उद्धार गरिसकेपछि प्रहरीले पैसा खाएर फिर्ता गरेको सुनिन्थ्यो । यसपटक भने महाराष्ट्र सरकारको आदेश भएकाले प्रहरीले फिर्ता गरेन । उद्धार भएकाहरुलाई राख्न आवास गृह खोज्न थाल्यो । ५ बजेतिर चरिमायालगायत १ सय ६० जनालाई अधेरीमा क्रिस्चियनले चलाएको क्याथोलिक होममा पुर्‍याए । यो बीचमा १ देखि ५ बजेसम्म चरिमायाहरुले पानीसमेत खान पाएका थिएनन् ।

उद्धार गरिएकाहरुलाई आ–आफ्नो देश फिर्ता गर्ने तयारी भयो । भारत र बंगलादेशले आफ्ना नागरिकको जिम्मा लियो । नेपाल सरकारले ‘नेपाली बोल्दैमा नलिने’ प्रतिक्रिया दिएको बाहिर आयो । क्याथोलिक होममा बस्दा चरियामालाई प्रहरी र होम सञ्चालकले नेपाल सरकारले यस्तो भनेको भन्दै सुनाउँथे, ‘यिनीहरु बिग्रिएका हुन् । नेपालमा ल्याएमा अरुलाई बिगार्छन् । यिनीहरु एड्सको पोका हुन् । नेपालमा ल्याएमा एड्स फैलाउँछन् ।’ यस्तो सुन्दा चरिमाया साह्रै दुखित हुन्थिन् । तीन महिनासम्म होममा बस्दा ६० जना एकैपटक गेट फोडेर भागे । तीन जनाले नियमित आउने ग्राहकसँग विवाह गरेर गए ।

यही समयमा नेपालबाट गौरी प्रधान क्याथोलिक होममा पुगे । २/३ घण्टा वार्ता गरेर प्रधान फर्किए । उनले केही समय पर्खिन आग्रह गरेर फर्किएका थिए । यसपछि चरिमायामा केही आशाको दियो बल्यो । प्रधान फर्किएको तीन महिना अर्थात क्याथोलिक होममा बसेको ६ महिनापछि २०५३ साउन ४ र ७ गते गरेर दुई लटमा १ सय २८ जनालाई नेपाल फिर्ता ल्याइयो । भारतीय हिरो सुनिल सेठ्ठीले दिदी बहिनी सम्झिएर जहाजको टिकट व्यवस्था गरिदिएका थिए । ४ गते सय र ७ गते २८ जनाले नेपाली भूमि टेकेका थिए । चरिमाया दोस्रो लटमा थिइन् । विमानस्थलमा उनीहरुलाई धेरै अपमान गरियो । थुक्नेसम्मको काम भयो ।

चरिमायाहरुको पुनस्र्थापनामा सात वटा संस्थाले टेको लगाएका थिए । ती संस्थाहरुमा नवज्योती केन्द्र, माइती नेपाल, सिविन, एबीसी नेपाल, शान्ति पुनस्र्थापना गृह, स्त्री शक्ति र महिला पुनस्र्थापना केन्द्र थिए । संस्थाहरुले क–कसलाई कहाँ राख्ने भागबण्डा गरे । चरिमाया नवज्योती केन्द्र, बालुवाटारमा पुगिन् । नवज्योतीको भागमा अरु १३ जना पनि परेका थिए ।

सबैलाई ६ जना पछि पारिवारिक पुनर्मिलन गर्ने भनियो । दसैँ पनि आउदै गरेकाले आधा आधी दसैँमा घर जाने भन्न थाले । चरिमायाको भनाई भने बेग्लै थियो । उनले ६ महिनामा पुनर्मिलन होइन, समाजले स्वीकार गर्ने, जिउने आधार तयार गरिदिनुस् भन्थिन् ।

२०५४ सालमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले १० दिने आधारभूत स्वास्थ्य तालिम आयोजना गर्‍यो । तालिममा १५ जना सहभागी थिए । तालिमको अन्तिम दिन प्रभावितहरु सम्मिलित शक्ति समूह गठन भयो । सुरुका दिनमा छलफल र बैठक बस्न समेत अरु हिच्किचाउँथे । ओरेककै भवनमा बैठक छलफल हुन्थ्यो । शक्ति समूह जन्मिएपछि चार वर्ष चरिमायाहरुले भोलिन्टियर काम गरे ।

एटविन नेटवर्क, महिला बेचबिखन विरुद्ध विश्वव्यापी सञ्जालले शक्ति समूहलाई माथि उकास्न ठूलो सहयोग गरे । यही बेला सञ्जालले चार दिने धारणागत स्पष्टता गोष्ठी आयोजना ग¥यो । त्यसको सहजकर्ता डा. ज्योति संग्रौला र लिन चिउ थिए । गोष्ठीको चार दिनसम्म चरिमायाले सिविनकी सन्ध्या श्रेष्ठको सहयोगमा लिन चिउसँग ‘आफै गरि खान शक्ति समूह गठन गरेका छौं । सहयोग गरिदिनु पर्‍यो’ भनेर धेरै आग्रह गरिन् । लिन चिउले सहयोगको बाचा गरिन् । उनी नेदरल्याण्डको मामाकास संस्थाको संयोजक थिइन् ।

लिन चिउले शक्ति समूहको ‘उद्धार’ गरिन् । पाँच लाख रुपैयाँ सहयोग गरिदिइन् । त्यही पैसाबाट शक्ति समूहको काम सुरु भयो । त्यसपछिका दिनमा शक्ति समूह जिफन्टसँग समन्वय गरेर गलैचा कारखानामा पुग्यो । लुमन्ती र बसोबास व्यवस्था संस्थासँग मिलेर काठमाडौँको बसोबास बस्तीमा घुस्यो । गलैचा र बसोबास बस्तीमा पहिला जानुको कारण चाहि उद्धार गरिएकाहरु अधिकांश त्यहाँबाट दलालको जालमा परेका थिए ।

यतिबेलासम्म संस्था दर्ता भइसकेको थिएन । संस्था दर्ता पनि धेरै पापड पेल्नु पर्‍यो । २०५६/०५७ मा आएर संस्था दर्ता भयो । त्यसपछि अक्सफार्म जिवी नेपाल, सेभ द चिल्ड्रेनहरुले सहयोग गरे । सन् २००३ मा युनिसेफको सहयोगमा १० दिने केस स्टडी तालिम गरेर किताब निकालियो । २००४ मा उद्धार, पुनर्स्थापना र पुनर्मिलन सम्बन्धी मार्ग निर्देशन, २००५ मा फर्केकाहरुको अध्ययन, २००६ देखि शक्ति समूहले जिल्लाहरुमा काम थाल्यो ।

सुरुमा सिन्धुपाल्चोक, नुवाकोट, बारा, रौतहट, मकवानपुरबाट काम थालिएको थियो । सन् २००९ देखि शक्ति समूहले औपचारिक रुपमा उद्धार र स्वदेश फिर्ताको काम गरिरहेको छ । शक्ति समूहले अहिलेसम्म एक हजार दुई सयलाई आवासको सहयोग गरेको छ । ६ सय बढीको उद्धार गरेको छ ।

लाठो लिएर ‘स्वागत’


२०५३ साउन ७ गते नेपाल फर्किएकी चरिमाया पुस ७ गते पहिलो पटक घर गइन् । २७/२८ महिना पछि घर फर्किदा उनी फुरुङ्ग थिइन् । मनमा उमंग थियो । खुशीयाली त थियो नै । तर, जब गाउँ पुगिन्, खुशी, उमंग सबै चकनाचुर भए । घरपरिवारका सदस्यलाईसमेत प्रभावित पारेर गाउँलेहरु लाठो लिएर बसेका थिए । भन्दै थिए, ‘कुल बिग्रिने भयो, छोराछोरीको विहे नहुने भयो ।’

चरिमायाले आफ्नो दुखान्त सुनाउने प्रयास गरिन् । तर, सुनिदिने कसले ? उनले पाएको दुःख र हण्डर सुनिदिने कसले ? घरपरिवार नै गाउँलेको दबाब र प्रभावमा थिए । उनले आफूलाई बम्बईमा बेच्नेविरुद्ध कारबाहीका लागि आएको भनेर गिड्गिडाउँदा समेत कसैले कुरा नसुनेपछि चरिमाया दुई घण्टा पछि नै गाउँबाट फर्किइन् । पुस १० गते सदरमुकाम चौतारामा पुगेर जिल्ला अदालतमा चार जनाविरुद्ध मानव बेचबिखनमा मुद्दा दायर गरिन् ।

गाउँबाट फर्किएर नवज्योतीमा आएपछि उनले माघमा ६ महिने ग्रामीण अगुवाई तालिम लिइन् । त्यसपछि निवेदन नै हालेर सिविनको बालिका गृहमा बसिन् । घरमा जाने र आउने क्रम चल्न थाल्यो । पुस १ गते आमा सिकिस्त बिरामी भएपछि काठमाडौँ ल्याइएको थियो । चरिमायाले सक्दो हेरचाह गरेकी थिइन् । माघे संक्रान्तिमा फलफूल, खानेकुरा लिएर घर जादा आमा बितिसक्नु भएको थियो । आमाको पुस २७ गते नै मृत्यु भएको रहेछ । मैले लगेको खानेकुरा चढेन । मैले कर्म चलाउन पाइन । म अछुतो भए । तामाङको कर्म चलाउने भनेको घेवा भन्ने हुन्छ । मलाई त्यसमा समावेश नगरेपछि म घर बसिनँ । फर्किहाले ।

२०५७ सालमा शक्ति समूहबाट चरिमाया गाउँ जान थालिन् । त्यही बेला उनको विहे भयो । गाउँमा चेतना जगाउन थालिन् । आफूलाई जस्तो अरुलाई नपरोस् भन्ने सन्देश बाँडिन् । निरन्तर काम गर्दै जादा समाजले चरिमायाको कुरा बुझ्यो ।

पछि त यस्तो पनि अवस्था आयो कि समाजका अगुवाहरुले चरिमायालाई अगाडि सार्न थाले । चरिमाया रहरले, हाँसीखुशी बेश्यालयमा पुगेकी थिइनन् । उनलाई परिवन्धमा पारेर लगिएको थियो । यस्तो अवस्था त जसको छोरीबुहारीको पनि हुन सक्थ्यो । यो कुरा समाजले बुझ्यो । त्यसपछि चरिमायालाई काम गर्न अझ सहज भयो । समाजले विभिन्न लाल्छना लगाएकी चरिमाया बिस्तारै ‘हिरो’ हुँदै गइन् । उनको कामले गर्दा अहिले पनि ‘हाइहाइ’ नै रहेकी छन् ।

कात्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्