सम्पादकीय

रौतहट नरसंहार र त्यसको अर्थ

विकृत र क्रूर मानसिकताबाट निर्देशित केही घटनाहरु यथार्थ भए पनि मानवीय कल्पनाले सहजै स्वीकार गर्दैन यदाकदा। रौतहट इट्टाभट्टा नरसंहार काण्ड एउटा त्यस्तै घटना अंकित भएको छ ।

एउटा ‘मानव’ एउटा राजनीतिज्ञ, नेता र पछि मन्त्री बनेको व्यक्तिको निर्देशन र आदेशमा श्रम आर्जनबाट जीविका चलाउने व्यक्तिहरुलाई भट्टीमा जिउँदै धकेलिनुले दुईवटा मुख्य पक्षलाई उजागर गरेको छ। पहिलो, शासन र सत्तामा प्रत्यक्ष या अप्रत्यक्ष नियन्त्रणमा रहनेले जे गरे पनि हुन्छ। दोस्रो, पीडितहरु गरिब र श्रमिक भएमा उनीहरुले न्याय पाउन सक्तैनन्।

विज्ञापन

यो नृशंस हत्याकाण्डमा आरोपित व्यक्ति २०६२–६३ को ‘क्रान्ति’पछि सत्ताको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला, उनकी छोरी सुजाता कोइराला र ‘क्रान्ति’ का नाममा बाह्य ‘दलाली’ का प्रतिक बनेका सर्वशक्तिमानसँग दलभित्र (नेपाली कांग्रेस) पनि निकट मानिन्थे।

‘निकटता’ ले मात्र दाेष सावित गर्दैन, तर, प्रहरी र सबै किसिमका प्रशासनिक यन्त्र सत्ताका तथा त्योसँग जोडिएका दलहरुको नियन्त्रण र खटनमा चल्ने परिपाटीको यो नांगो रुप ०६३ यता नै देखिएको हो। सिटौलाले कुन रुपमा नैतिक जिम्मेबारी लेलान्, हेर्न बाँकी छ। तर मुख्य कुरा हो पीडित र उनका परिवारले न्याय पाएको अनुभूति गर्न पाउँछन् कि पाउँदैनन् सक्छन् या सक्दैनन? यदी सक्दैनन् र पाउँदैनन् भने त्यो राज्यकै सम्वेदनहीनता र न्याय दिने क्षमता र प्रतिवद्धताको न्यूनता या शून्यता मानिने छ।

परिवर्तनपछि सत्तामा रहेका हरेक दल एमाले माओवादी नेपाली कांग्रेस र विभिन्न मधेस केन्द्रित दल तिनका नेता र मन्त्रीहरुले हत्या हिंसा र भ्रष्टाचारमा उन्मुक्ति लिँदै आएका छन्। त्यति मात्र हैन, माओवादी सशस्त्र विद्रोहताका भएका हत्या, हिंसा र गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनमा वृहत शान्ति सम्झौताका प्रावधान अनुसार छानबिन नहुनु पनि दण्डहिनताको संस्कृति निमार्णको बलियो जग हो।

राजनीति, नेता र अपराधीबीचको सीमा रेखा मेटाउन यस्तो ‘उन्मुक्ति’ ले सहयोग पुर्‍याउँछ। सवाल या समस्या अफताव आलममा सीमित छैन। तर, नरसंहारलाई राजनीतिक आवरण या संरक्षण हासिल हुने हो भने त्यो राजनीति र त्यसबाट निर्देशित सत्ता प्रजातन्त्रकाे पनि हत्यारा बन्न पुग्छ।

किनकी आम व्यक्ति र नागरिकको जीवन, सम्मान र जीविकाका आधारमा घात पुर्‍याउने व्यक्तिले उन्मुक्ति पाउनु र त्यस्तो संस्कृतिमा परिवर्तनका शक्तिहरुको अपनत्व रहनुले त्यही पुष्टि गर्छ।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्