महरालाई पाँच दिन म्याद थप

न्यायाधीशसमक्ष रोशनीको निवेदन: महराले मलाई कुनै दुर्व्यवहार गरेका छैनन्

म्यादथपका लागि महरालाई अदालत लगिँदै। तस्बिर: बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराबाट आफूलाई बलात्कार प्रयास नभएको भन्दै न्यायाधीश समक्ष निवेदन दिएकी छन्।

आइतबार साँझ महरालाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइए लगत्तै उनी पनि अदालत पुगेर न्यायाधीश बाबुराम सुवेदीसमक्ष निवेदन दिएकी हुन्।

विज्ञापन

शाहीले न्यायाधीश सुवेदीसमक्ष महराबाट आफूलाई कुनै दुर्व्यवहार  नभएको र आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको भन्दै निवेदन दिएकी हुन्। निवेदनमा उनले असोज १२ गते महरा आफ्नो कोठामा नआएको उल्लेख गरेकाे महराका वकिल वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जानकारी दिए।

सरकारी वकीलको कार्यालयमा महराको बयानपछि प्रहरीले म्याद थपका लागि अदालत लगेको थियाे। प्रहरीले थप अनुसन्धान आवश्यक भएको भन्दै अदालत समक्ष सात दिन म्याद थपको माग गरेकाेमा अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएकाे छ।

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।

बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्