महरालाई क्यामराबाट बचाउन सुरक्षाकर्मीको यस्तो प्रयास (६ तस्बिरहरु)

निर्वतमान सभामुख कृष्णबहादुर महराले अन्ततः १५ दिनपछि सरकारी वकिलको कार्यालयमा आफ्नो बचाउमा बयान दिएका छन्। उनी गत असोज १९ गते बेलुका बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन्।

आइतबारको बयानमा उनले आफूमाथि बलात्कार प्रयासको आरोप लगाउने महिला रोशनी शाहीलाई असोज १२ गते फोन गरेको तर उनको कोठामा आफू नपसेको बयान दिएका हुन्।

विज्ञापन

बलात्कार प्रयासको आरोप लगाउने महिला रोशनी शाहीले आइतबार फेरि जिल्ला अदालत काठमाडौँका न्यायाधीश समक्ष महराले आफूलाई कुनै किसिमको दुर्व्यवहार नगरेको भन्दै निवेदन पेश गरेकी छन्।

यसका बाबजुद अनुसन्धानका लागि महरालाई थप पाँच दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन महरालाई थुनामा राख्न आदेश दिएको हो।

यसअघि गएको असोज २८ गते दिएको तीन दिनको म्याद शुक्रबार नै सकिएको थियो । कात्तिक २ गते शनिबार परेकाले आइतबार महरालाई अदालत लगिएको हो । अब अनुसन्धानका लागि प्रहरीले महरालाई कम्तिमा कात्तिक ६ गतेसम्म थुनामा राख्न पाउने भएको छ ।

आइतबार दिनभरको लुकामारी

असोज १४ गते बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वातासहितको समाचार प्रकाशित भएपछि महरा विवादमा तानिए ।

उनले आरोप अस्वीकार गरे तर असोज १५ गते सभामुखबाट राजीनामा दिए । १८ गते ती महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि महरा १९ गते बेलाुका पक्राउ परे ।

केही दिन सिंहदरबार प्रहरीको थुनामा रहेका उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै नर्भिक अस्पतालमा छन् ।

आइतबार दिनभरजसो सरकारी वकिलको कार्यालय र अदालतमा बिताएका उनी साँझ परेसँगै पुनः अस्पताल फर्किएका छन् ।

तर यो दिनभरमा उनलाई पत्रकारका क्यामराम नपरुन् भन्नका लागि धेरै प्रयास भए र गरियो । उनलाई क्यामरामा पर्नबाट रोक्नका लागि प्रहरी प्रशासनले निकै ठूलो प्रयास गरेको देखियो ।

बिहान ११ बजेतिर महरालाई नर्भिक अस्पतालबाट जिल्ला सरकारी वकिलको कार्यालय लगियो । अस्पतालबाटै लैजाँदा र सरकारी वकिलको कार्यालयमा पस्दा पत्रकारले नदेखुन् भनेर प्रहरीका भ्यानले उनलाई छेके, उनीरहेका गाडी सरकारी वकिलको कार्यालयको ढोकैमा लगियो र घेरा हालेर भित्र पसाले । गएको असोज २८ गते बयान नदिएका महराले आइतबार सरकारी वकिलको कार्यालयमा बयान दिए ।

उनको बयानका लागि दिनभर जसो लाग्यो । झण्डै अपराह्न ४ बजेतिर बयान सकिएको थियो । लगत्तै जिल्ला अदालत लैजानु पर्नेमा महरालाई सर्वाजनिक रुपमा नदेखिउन् भन्नका लागि निकै बेर कुरियो ।

बेलुका पाँच बजेपछि प्रहरीको गाडी सरकारी वकिलको कार्यालयमा ढोकै नजिक लगियो, मिल्नेसम्म छेकियो । त्यसपछि कभर गरेर उनलाई गाडीमा राखी अदालत लगियो ।

बबरमहलाको बाटोको पेटीबाट फोटो पत्रकारले प्रहरीको अवरोध तथा धक्काधक्कीलाई सहेर फोटो खिचे । अदालतमा पसाल्नबेला जस्तै निकालेर अस्पताल लैजाने बेलामा पनि मिलेसम्म गाडी तथा सुरक्षाकर्मीले कभर गरेर महरालाई क्यामराबाट जोगाउने प्रयास भयो ।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्