क्यान्सरको जन्म कसरी हुन्छ? थाहा पाउने प्रयासमा वैज्ञानिक

अमेरिका तथा बेलायतका वैज्ञानिकहरुले क्यान्सर रोगको जन्मको कारण थाहा पाउने प्रयास स्वरुप संयुक्त अनुसन्धान सुरु गरेका छन् ।

क्यान्सरको सुरुवाति लक्षण थाहा पाउने र रोग सुरु हुनु पूर्व नै त्यसको जोखिम न्यूनिकरण गर्नका लागि सहयोग होस् भन्ने उद्देश्यसहित अमेरिकी र बेलायती वैज्ञानिकले अनुसन्धान सुरु गरेका हुन् ।

विज्ञापन

वैज्ञानिकहरुले अनुसन्धानको क्रममा प्रयोगशालामा ‘क्यान्सरलाई जन्म दिने’ र रोगको पहिलो दिनमा के वा कस्तो हुने रहेछ भनेर थाहा पाउने योजना बनाएका छन् ।

क्यान्सरलाई सुरुकै चरणमा पत्ता लगाउने प्रयासका लागि सुरु भएको संयुक्त प्रयास सर्वसाधारणका लागि अति नै फाइदाजनक हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

बेलायतको क्यान्सर रिसर्च सेन्टरले बेलायतकै क्याम्ब्रिज विश्वविद्यालय, युनिभर्सिटी कलेज लण्डन तथा अमेरिकाका स्टानफोर्ड र ओरिगन विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धान थालेको हो ।

अनुसन्धानकर्ताले उच्च जोखिममा रहेकाहरुको रगत, स्वास तथा पिसाबसहितको परीक्षण र त्यसबाट आउने रिपोर्टलाई अति स्पष्ट बनाउनका लागि प्रयास गर्ने तयारी थालेका छन् ।

यसका लागि प्रविधिगत रुपमा परिवर्तन गर्ने प्रयासमा पनि छन् उनीहरु । यसबाट क्यान्सरसहितका रोगहरु सुरुवाति चरणमै थाहा पाउन सकियोस् भन्ने लक्ष्य छ ।

तर यो प्रक्रिया अति नै कठिन रहेको र यसका लागि अबको ३० वर्षसम्म लाग्न सक्ने अनुसन्धानको नेतृत्व गरिरहेका डा. डेविड क्रोस्बीले बताएका छन् ।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्