फूलको प्रतियोगितात्मक प्रदर्शनी

‘वित्तीय संस्थाहरु फूल किसानलाई ऋण दिन हिच्किचाउँछन्’

काठमाडौँ– ढकमक्क फूलेका गोदावरी फूलले ललितपुर जावलाखेलको मैदान यतिबेला रङ्गी बिरङ्गी भएको छ। अन्य समयमा खाली देखिने मैदान तिहार नजिकिँदा भने थरीथरीका फूलहरुले सजिएको छ।

तिहारलाई लक्षित गरेर नेपाल फ्लोरिकल्चर एशोसिएसनले कार्तिक १ गतेदेखि गोदावरी फूलको १३ औँ प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको थियाे।

विज्ञापन

उक्त मेलामा अवलोकनकर्ताहरुको पनि त्यतिकै भीड थियो भने मेलामा फूलहरु मात्र नभएर बिउ बिजन, औजारहरु, गमला लगायतका विभिन्न सामग्री पनि प्रदर्शनीमा राखिएका थिए।

विशेषगरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु क्षेष्ठले बताए।

उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष अवलोकन गर्न आउनेहरुकाे संख्या कम भएको बताए। उनले भने, ‘विगतका वर्षमा हामीले नि:शुल्क अवलोकन गर्ने व्यवस्था गरेका थियौँ। तर यस वर्षदेखि भने गेट टिकटको व्यवस्था गरेकाले कम भएको हो।’

उनका अनुसार टिकटको व्यवस्थाले अवलोकनकर्ता कम भएपनि फूलहरुका सोखिन र नयाँ प्रजातिका बारेमा जान्न चाहने मानिसहरु भने कम भएका छैनन्।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा २ अर्ब ४२ करोड रुपैयाँ बराबरकाे फूलकाे आर्थिक कारोबार गर्दा करिब १९ करोडको आयात गरिएको देखिन्छ। तर निर्यात भने एक करोड रुपैयाँको मात्रै भएको छ।

नीजि क्षेत्रको पुष्प व्यवसायमा करिब ६ अर्वको लगानी रहेको र ५७ हेक्टरमा पुष्प व्यवसाय गरिएकाे अध्यक्ष श्रेष्ठले बताए। उनले सातै प्रदेशको तथ्यांक संकलन गर्दा २५ लाख माला खपत हुने अनुमान गरिएको बताए।

यसमा सात लाख माला गोदावरी र मखमली फूलको हुने र सात लाख माला आन्तरिक उत्पादनले नै धान्ने अध्यक्ष श्रेष्ठले बताए। यस्तै सयपत्रीको १८ लाख माला खपत हुनेमा साढे १५ लाख माला आन्तरिक उत्पादनले पुग्नेछ भने अपुग हुने  साढे दुई लाख माला भारतबाट आयात गर्ने उनले बताए। नेपालमा वार्षिक १२ प्रतिशत फूल आयात हुने गर्छ।

पुष्प व्यवसायबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४३ हजार मानिसहरुले रोजगारी पाएकाे अध्यक्ष श्रेष्ठकाे दाबी छ।

यस्तै वर्षेनी पुष्प मेलाबाट व्यवसायीलाई केही राहत मिले पनि दक्ष जनशक्ति र प्रविधिका अभावले जुन रुपमा उत्पादन हुनु पर्ने हो त्यसरी उत्पादन गर्न नसकेको उनको भनाई छ।

उनी भन्छन्,‘बीमाको पोलिसी नहुनु र वित्तिय संस्थाहरुले कृषकहरुलाई सहज रुपमा ऋण उपलब्ध गराउँदैनन्।’ यस्तै सरकार र निजितर्फबाट पनि दक्ष जनशक्ति र प्रविधिको विकासमा कुनै लगानी नभएको उनको गुनासो छ।

३ नम्बर प्रदेशमा सबैभन्दा फूल उत्पादन हुने र करिब ६० प्रतिशत फूल यही क्षेत्रमा खपत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले भने, ‘राजधानी आर्थिक रुपमा बढी चलायामान क्षेत्र र उपभोक्ता पनि बढी भएकाले खपत हुन्छ।’

यस्तै राजधानी बाहेक गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र १ नम्बर प्रदेशमा पनि फूलकाे राम्राे खपत हुने अध्यक्ष श्रेष्ठले बताए।

मेलामा सहभागी पुष्प व्यवसायी प्रकाश राईले मेलामा बन्साई प्रजातीका फूलहरु प्रदर्शनीमा राखेका थिए। उनका अनुसार नेपालमा बन्साईका बारेमा धेरैलाई जानकारी नभएको र बन्साई बनाउन करिब १० देखि १२ वर्ष लाग्नुका साथै यसको मूल्य पनि अरु फूलको तुलनामा महँगो छ।

तर अहिले अनलाईनका माध्यमबाट थाहा पाएर त्यसका बारेमा जान्न विशेषगरी विद्यार्थीहरु आउने गरेको उनले बताए। उनले भने ‘मेलाका माध्यमबाट बन्साईका बारेमा जानकारी दिन सजिलो भएको छ।’

यस्तै मेलाका अर्का सहभागि धनप्रसाद घिमिरेले तिहारलाई मध्यनजर गरेर बढि गोदावरी, सयपत्री प्रदर्शनीमा राखेको बताए। उनले विगतका वर्षहरुभन्दा अहिले फूल बढि बिक्रि भइरहेको र व्यापार पनि राम्रो भएको बताए।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्